पोखरा । कास्कीको माछापुच्छ्रे- १ मा अवस्थित मिर्सा, घाचोक, धिप्राङ गाउँको नल्कु म्हिगीलामा परिवारले रजत जयन्ती र चेलीबेटी वार्षिक भेटघाट सम्पन्न गरेको छ।
पोखरा- २५ याम्दीस्थित मिर्सा, घाचोक, धिप्राङ नल्कु म्हिगीलामा परिवारको भवनमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा शुभकामना आदानप्रदान, सम्मान, रजत जयन्ती स्मारिका विमोचन, सांस्कृतिक कार्यक्रमका साथै वार्षिक स्योकैंसमेत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले तमुहरूले शिक्षामा विशेष जोड दिनुपर्ने बताए । उच्च शिक्षा हासिल गरेका युवालाई थप प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रजातन्त्र प्राप्तिले मात्रै तमुहरू संगठित हुने, समाज स्थापना गर्ने र रजत जयन्तीको अवसर प्राप्त भएको हो,’ उनले भने, ‘समाजहरूले वार्षिक योजना बनाई व्यवस्थित रूपले अघि बढ्नुपर्छ ।’
रजत जयन्ती स्मारिका प्रकाशन गरी ऐतिहासिक दस्तावेजिकरणको लागि उनले समाजलाई धन्यवाद दिए । विशेष अतिथि प्रदेससभा सदस्य गणेशमान गुरुङले नेपाल निर्माणका लागि तमुहरूले हिजो पनि अगुवाइ गरेको र अब समृद्धिको लागि भूमिका खेल्नुपर्ने बताए ।
तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, पोखरा- २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिना, माछापुच्छ्रे- १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, रिभान चौर नाथु प्रल्हाद ङेरो पैंगी लामा परिवार समितिका अध्यक्ष क्या. डम्बरबहादुर गुरुङलगायतले शुभकामना दिए ।
यस्तै, समाजका सहयोगी र परिवारका उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई प्रमुख अतिथिलगायतले सम्मान गरेका थिए । आमा समूह, चेलीबेटी समूहलगायत कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।
चित्र गुरुङले कार्यक्रम सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता परिवारका अध्यक्ष तेजकुमार गुरुङले गरेका थिए । समितिको सचिव सेनानी धनप्रसाद गुरुङले प्रमुख अतिथिको परिचय र वीरेन्द्र गुरुङले स्वागत गरेका थिए ।