लन्डन । सहारा युके टोलीले गत फेब्रुअरीमा भ्रमणका क्रममा गरेको सहयोग रकममा थपेर 'ल्वाङ भिलेज' बोर्ड राखिने भएको छ ।
सहयोग रकम सदुपयोग गर्न, पर्यटन विकास र प्रवर्द्धनका लागि ल्वाङगाउँको माथि ठूलो अक्षरमा (८ फिट साइजको अल्फाबेट) मा LWANG VILLAGE भन्ने बोर्ड बनाउने निर्णय गरिएको सहारा युकेको कार्यसमिति सदस्य एवं ल्वाङवासी सविन्द्रकुमार गुरुङ (एसके) ले जानकारी दिए । उनका अनुसार उक्त बोर्ड निर्माणका लागि ५ लाख रुपैयाँ खर्च लाग्नेछ । गाउँको नामको ठूलो बोर्ड बनाउन थप रकम आवश्यक परेकोले आर्थिक संकलन गर्ने क्रममा रहेको जनाउँदै गुरुङले पर्यटन विकास र प्रवर्द्धन गर्ने कार्यमा जोडिन चाहनेहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत 'घर ठूलो भए छिमेकीले चिन्छ, मन ठूलो भए संसारले चिन्छ' भन्ने नारासहित सहयोग अभियान थालनी गरेका छन् ।
सहारा युकेको नेतृत्वमा पदाधिकारीहरु साथै विभिन्न संघ संस्ठाका पदाधिकारीहरुले गाउँ गाउँमा पर्यटन विकास र प्रवर्द्धन गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको पर्यटकीय क्षेत्र ल्वाङ गाउँको भ्रमण गरेका थिए । ल्वाङ गाउँमा सहारा युके टोली, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कलाकार, पत्रकारहरुलाई गुरुङ मौलिक भेषभुषामा सजिएका ल्वाङ सामुदायिक होमस्टेमा आबद्ध आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरुले पञ्चेबाजासहित सेतो टीका, फूलमालाले भव्य स्वागत गरेका थिए । साँझ साँस्कृतिक कार्यक्रम तथा रमाइलो कार्यक्रम भएको थियो l त्यसक्रममा भ्रमण टोलीमा सहभागीले सहयोग गरेका थिए ।
प्राप्त विवरण अनुसार तमु धीं युकेका अध्यक्ष हरिक गुरुङ र युके बस्दै आएका तमु धीं लन्डन इकाईका ट्रस्टी ल्वाङवासी चन्द्रबहादुर गुरुङले २५/२५ हजार रुपैयाँ, कोल्मा बहाकोट समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङले १५ हजार, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ ११ हजार र डाइमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङले १० हजार ७८ रुपैयाँ सहयोग गरेका छन् ।
सपन इन्टरटेन्टमेन्टका सपनकुमार राई, गोर्खा हिल फोल्क्स्टोनका प्रोपाइटर चन्द्रबहादुर गुरुङ, शिव कल्चरल कम्युनिटी सेन्टर युकेका अध्यक्ष विक्रम भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, धम्पुस परिवार युकेका अध्यक्ष कुमार गुरुङ, हङकङ बस्दै आएका ल्वाङ सैनिक बस्तीका दिल गुरुङ, सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङ, कोसु मोसुका प्रोपाइटर अजय थापा, तमु धीं युकेका कार्यसमिति सदस्य भोज गुरुङ, आमा समूहका पूर्वसचिव अशोक र यशोदा गुरुङ, सहारा युकेका सल्लाहकार कृष्ण गुरुङ, पूर्वअध्यक्ष लेरि कुसाङ गुरुङ, बेलायत बस्दै आएका लाहाचोकका कुमार गुरुङले १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै गोर्खा मिडिया युकेका प्रबन्धक एवं फोटो पत्रकार मिलन तमुले ७ हजार, एभरेस्ट टाइम्स युके ५ हजार र रोधी टिभिकी प्रोपाइटर बालकाशी गुरुङबाट ५ हजार सहयोग प्राप्त भइसकेको एसकेले जनाए ।