पोखरा । यही फागुन १९ र २० गते १४औँ पसगाउँ महोत्सव-२०८० हुने भएको छ । लमजुङको क्व्होलासोंथार गाउँपालिका अध्यक्ष तथा पसगाउँ होमस्टे समिति अध्यक्ष सुर्यप्रसाद गुरुङले शुक्रबार पसगाउँ समाज घर पोखरामा आयोजित पत्रकार सम्मेलनमा सुन्दर ग्रामीण पर्यटकीय गाउँ पसगाउँ क्व्होलासोंथार-६ लमजुङमा महोत्सव हुने जानकारी दिएका हुन् ।
तमु (गुरुङ) जातिको बाहुल्यता रहेको पस गाउँमा ग्रामीण पर्यटनको विकास गर्न, स्थानीय हस्तकलाको प्रदर्शनी गर्न, पसगाउँलाई देश विदेशमा थप चिनाउन, गुरुङ जातिको कला संस्कृति र भाषाको संरक्षण र संवर्द्धन गर्न, आर्थिक एवं सामाजिक स्तर उकास्नका लागि पसगाउँ महोत्सव आयोजनाका गरिएको उनले बताए । उनका अनुसार पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फागुन १९ र २० गते महोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको थियो ।
महोत्सवमा लोकप्रिय गुरुङ तथा दोहोरी कलाकारहरु र स्थानीय तथा अन्य कलाकारहरूको प्रस्तुति समेत रहनेछ । स्थानीय सांस्कृतिक कार्यक्रम, आमा समूहको नाच, कृष्णचरित्र नाच, घाँटु नाच, सारङ्गी नाच महोत्सवको अर्को थप आकर्षक रहनेछ । १ सय ४५ घरधुरी र १ हजार ५९ जनसंख्या रहेको पसगाउँमा हाल २१ घरमा होमस्टे संचालनमा रहेको छ । दृश्य अवलोकन र पिकनिक स्पटका लागि पसगाउँ भूपू समितिको नेतृत्व तथा लगानीमा पसगाउँको कोम्रे डाँडामा शौचालय, खानेपानी तथा बिजुली बत्तीलगायत भौतिक संरचनाको व्यवस्था भैसकेको उनले उल्लेख गरे । जिल्ला सदरमुकाम बेसींसहरदेखि मालिङ, साल्मेभन्ज्याङ, घलेगाउँ, भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ भने प्रदेश राजधानी पोखरादेखि रामबजार गिलुङ घाम्रङ, थुम्सिकोट बालुवा बगैँचा, दमौली भोर्लेटार गिलुङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।
कार्यक्रममा होमस्टे समिति पसगाउँ तथा क्व्होंलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपती गोरे गुरुङ, क्व्होंलासोथार-६ पसगाउँका वडाध्यक्ष मनलाल गुरुङ, ग्रीनिस गोर्खा एक्स सर्भिस् एसोसिएसन यूकेका सचिव गमबहदुर गुरुङ, राससका राम थापा, ऋषिराम बराल, पत्रकार महासंघका सल्लाहकार केशवशरण लामिछाने, पत्रकार महासंघ सचिव माधव बराल, प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्र, प्रेस चौतारीका सचिव रन्जन अधिकारी सदस्य अनुप पौडेल स्यालुट नेपाल मिडियाका संचालक कृष्ण आलेलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । साथै पसगाउँ समाजका बुद्धिजीवी, सल्लाहकारहरु, पदाधिकारीहरु, अध्यक्ष रामबहादुर गुरुङ, पसगाउँ संरक्षण व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पसगाउँ समाज पोखरा आमा समूहका अध्यक्ष हरिमाया गुरुङ र सदस्यहरुको उपस्थिति रहेको थियो ।