पोखरा । तमु धीं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
तमु धीं नेपालका पूर्वनारी संयोजक तथा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य मिना गुरुङको प्रमुख आतिथ्यतामा पोखरामा कार्यक्रम भएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका भीमबहादुर खत्रीले ट्राफिक नियम, आवश्यक सावधानी र नियम उल्लंघनले निम्तिने परिणामलगायत बारेमा प्रशिक्षण दिएका थिए।
पूर्वनारी संयोजक कार्यक्रमको उद्घाटन गर्दै आमाहरू सचेत हुनु परिवार नै सचेत हुनु भएकाले ट्राफिक सचेतना अपरिहार्य भएको बताइन्। आमाहरूले अब राजनीति, आफ्नो अधिकार र सामाजिक परिवर्तनमा निर्णायक भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रमका विशेष अतिथि तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मातृशक्तिको एकता समाज, एवं मुलुक समृद्ध बनाउन जागरूक हुनुपर्नेमा जोड दिए। ‘ट्राफिक नियमका बारेमा सचेत हुनु भनेको आफैँ र अरूलाई दुर्घटनाबाट जोगिनु जोगाउनु हो,’ उनले भने।
यसैबीच, उनले १८औँ पोखरा म्याराथनमा तमु धीं नेपाल केन्द्रीय आमा समितिको तर्फबाट ५ किमी महिला भेट्रान्सतर्फ सहभागी समिति सदस्य चित्रकुमारी गुरुङ प्रथम, सचिव विष्णु गुरुङ दोस्रो तथा अध्यक्ष पवित्रादेवी गुरुङ, महासचिव बालकुमारी गुरुङ र कोषाध्यक्ष आसकासी गुरुङले मेडलसहित प्रमाणपत्र प्राप्त गरेकामा आमा समितिको गौरव भएको भन्दै बधाई दिए।
पोखरा म्याराथनमा पूर्वनारी संयोजक मिना गुरुङ प्रेस चौतारी पत्रकारिता सम्मान, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ प्रेस चौतारी सम्मान र तमु सांस्कृतिक प्रतिष्ठानबाट पार्वता तमु स्मृति पुरस्कारबाट पुरस्कृत भएको भन्दै आमा समिति र दीप तमु समाज आमा समितिको तर्फबाट सम्मान गरिएको थियो।
यस्तै, सो अवसरमा आमा समितिलाई दौड विजेता चित्रकुमारी तमु र विष्णु तमुले ५ हजार तथा प्रमुख अतिथि मिना गुरुङले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।
तमु धीं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय तमु समाज एवं स्थानीय आमा दिदीबहिनीको बृहत् सहभागिता थियो। स्वागत मन्तव्य प्रथम उपाध्यक्ष बिना गुरुङ र सञ्चालन महासचिव बालकुमारी गुरुङले गरेका थिए।