पोखरा । रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४ मा समूहगततर्फ बेसलाइन एकेडेमी प्रथम भएको छ। १६ समूहले भाग लिएको विधामा वेसलाइनले प्रथम हुँदै १ लाख जितेको हो।
निश्चल डान्स एकेडेमीले दोस्रो हुँदै ५० हजार र तेस्रो कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे। पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो। समूहगततर्फ सहभागी रोटरी लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।
रोटरी दिवसको अवसरमा आयोजित नृत्यको एकल प्रतिस्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भूका सन्तोष थापा मगर प्रथम हुँदै ५० हजार हात पारे। रोट्रयाक्ट वालिङकी विन्दु नेपाली दोस्रो र रोट्रयाक्ट बनेपाकी नीति नर्कमी तेस्रो भए। उनीहरूले २५ र १२ हजार पाए। सो इभेन्टमा पब्लिक च्वाइस अवार्ड रोट्रयाक्ट पोखराकी कुसुम कुमारी थापाले जितिन्।
स्टार्स स्टुडियो, स्टार्स फाउन्डेसन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा शनिबार प्रतियोगिता भएको कार्यक्रम संयोजक जसमाया गुरुङ ‘जसु’ले जनाइन्। निर्णायकमा मनकुमार श्रेष्ठ, रविन गुरुङ र राजबहादुर गुरुङ थिए।
रोटरी पोखरा प्याराडाइज उपाध्यक्ष डा. हरिविक्रम अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिताका सहभागीलाई हौसला प्रदान गर्न डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजू, डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललगायत उपस्थित थिए। स्टार्स एकल गुरुङ नृत्य प्रतियोगिता २०७९ को मनोरञ्जनात्मक अवार्ड विजेता अर्चना गुरुङले पनि प्रस्तुति दिएकी थिइन्।
रोटरी वा रोट्रयाक्टमा आबद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक गुरुङले जनाइन्।
कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला सशक्तीकरणको लागि छात्रवृत्तिमा खर्च गर्ने योजना छ।
रोटरी पोखरा प्याराडाइजका सचिव देवेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी थापा गिरी र जसु गुरुङले गरेका थिए।