लन्डन । बेलायतवासी नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिताको रूपमा स्थापित गोर्खा कपको २२औँ संस्करणमा ५० टिमले सहभागिता जनाउने भएका छन्।
२१औँ संस्करणमा ४२ टिमले प्रतिस्पर्धा गरेकामा यस वर्ष भेट्रानतर्फ ८ टिम थपिएको हो। तमु धीं युकेले शनिबार तयारी बैठक आयोजना गरेर मे २६ मा हुने प्रतियोगिताबारे जानकारी गराएको हो।
तमु धीं युकेका स्पोर्टस सेक्रेटरी क्याप्टेन दीपक घलेले यसपालिको गोर्खाकप पहिलेभन्दा फरक हुने बताए। उनले पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत गोर्खा कपबारे विस्तृतमा जानकारी गराएका थिए।
क्याप्टेन घलेका अनुसार गत वर्ष ८ टिम रहेको भेट्रानलाई १६ बनाइएको छ। प्रवेश र बाहिरिने बिन्दु दुई ठाउँबाट हुनेछ। प्रवेश शुल्क र पुरस्कार पनि बढाएको घलेले जानकारी गराए।
तमु धीं भवन मिचेटमा भएको बैठकमा संस्थाका वरिष्ठ उपाध्यक्ष जुङकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए।
त्यसपछि आजीवन सदस्य स्व. चन्द्रदेवी गुरुङको सम्झनामा मौन धारण गरिएको थियो।
कोषाध्यक्ष दिलमाया गुरुङले पोखरा म्याराथन र एक पाउन्ड क्याम्पेनबारे अपडेट गराएकी थिइन्। तमु प्रतिष्ठानको अपडेटबारे तमु धीं युकेका हरि गुरुङले जानकारी गराए।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी, इकाई अध्यक्ष, ट्रस्टी, पूर्वअध्यक्ष, आमा समूहका अध्यक्ष, समूहका पूर्वअध्यक्ष, सल्लाहकार, आजीवन सदस्य तथा शुभचिन्त उपस्थित थिए।
बैठकको गोर्खा मिडयाले प्रत्यक्ष प्रसारण गरेको थियो। गोर्खाकपको २१औँ संस्करण २०२३ मे २८ मा भएको थियो।