काठमाडौँ । देश तथा विदेशमा रहेका तामाङ समुदायले शनिबार हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाएका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।
सोनाम ल्होछारलाई विभिन्न १२ वर्गमा विभाजन गरिएको छ। यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाइ गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको हो । ‘ल्हो’को अर्थ साल, संवत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। ल्होछारका अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो । यसका साथै, विभिन्न गुम्बा तथा घर–घरमा पूजागरी प्रसाद वितरण, शुभकामना आदानप्रदान, मान्यजनबाट आशीर्वाद ग्रहण, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ।
नेपालसँगै चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशमा पनि ल्होछार मनाइएको छ। नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पाले पनि यही ल्होछार मान्ने गरेका छन्।