पोखरा । सहारा युकेको टोली कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको पर्यटकीय क्षेत्र ल्वाङ गाउँमा पुगेको छ ।
सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङलगायत नेतृत्वको जम्बो टोली सोमबार दिउँसो ल्वाङ गाउँ पुगेको हो । त्यहाँ पुग्दा सहारा युके टोली, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कलाकार, पत्रकारहरुलाई गुरुङ मौलिक भेषभुषामा सजिएका ल्वाङ सामुदायिक होमस्टेमा आबद्ध आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरुले पञ्चेबाजासहित सेतो टीका, फूलमालाले भव्य स्वागत गरेका थिए ।
पोखरा महानगरपालिकादेखि करिब २६ किलोमिटर दुरीमा रहेको ल्वाङमा सहारा युकेको टोली दुई दिने भ्रमणका लागि पुगेको हो । सोमबार दिउँसो स्थानीय रुपमा पाइने सेलरोटी, बोडीको तरकारी खुवाएर पाहुनालाई स्वागत गरिएको ल्वाङ सामुदायिक होमस्टेकी अध्यक्ष मञ्जु गुरुङले बताइन् । अध्यक्ष मञ्जु गुरुङले भनिन्, 'सहारा यूकेको टोलीलाई स्वागत गर्न पाउँदा खुसी छौं । उहाँहरुको ल्वाङ बसाइले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ र ल्वाङलाई विश्वसामु चिनाउन थप मद्दत पुर्याउने छ ।' साँझ सांस्कृतिक कार्यक्रम चलेको छ ।
कास्कीकै धम्पुसमा जन्मिएका सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ पहिलो पटक ल्वाङ पुग्दा एकदमै खुसी देखिन्थे । 'पहिलो पटक ल्वाङ आइपुगेँ । यसको सबै क्रेडिट एसके भाइलाई दिन चाहन्छु,' उनले भने, 'एकदम खुसी छौं । यत्ति राम्रो गाउँको बुबाआमा, दाजुभाइ र दिदीबहिनीले स्वागत गर्दा एक्साइटेड छौं । आहा ! रारा पोखरा गोल्डकप फुटबल कार्यक्रम सकिएपछिको पहिलो भिजिट सफल भएको महसुस गरेको छु ।'
पूर्वअध्यक्ष कुमारजस्तै सहारा युकेका सल्लाहकार तथा डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङले पनि निकै रमाइलो लागेको सुनाए ।
सहारा युकेका निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङले सोही अवसरमा सहारा युकेले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गरेका थिए । 'सहारा पोखराले एकेडेमीमा आश्रित बालकालिकालाई खेलकुद र शिक्षामा अगाडि बढाउन स्थापना गरेको २ करोड ८५ लाख रुपैयाँ बराबरको कोषमा सहारा युकेको ८० लाख रुपैयाँभन्दा बढी योगदान रहेको छ,' उनले सुनाए, 'भूकम्प, बाढी, पहिरोलगायत पीडामा परेका नेपालीलाई सहयोग, विद्यालय भवन निर्माणलगायत धेरै सामाजिक क्षेत्रमा सहारा युकेले काम गर्दै आएको छ । नेपालमात्रै होइन विपत्तिको बेला संसारका अन्य मुलुकमा पनि सहयोग गर्ने गरेका छौं ।'
सहारा युके टोलीमा मिसिएका तमु धिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर तमुले ल्वाङ गाउँ पर्यटकीय हिसाबले राम्रो विकास भइरहेको बताए । 'पोखरामा रहेका संघ संस्था र पत्रकार, कलाकार सहारा युकेको टोलीमा जोडिएर ल्वाङ आउन पाउँदा धेरै खुसी लागेको छ । ल्वाङ गाउँलेले पर्यटकहरुलाई भव्य स्वागत गर्छन् र यहाँको अर्ग्यानिक खानाले स्वागत गर्ने चलन छ । त्यसकारण ल्वाङ गाउँ पर्यटकीय हिसाबले राम्रो विकास भइरहेको छ । यहाँको समस्या बाटोको हो । त्यो पनि छिट्टै हल हुनेछ ।'
टोलीमा सहारा युकेका अध्यक्ष कृष्ण, निवर्तमान अध्यक्ष लेरि कुसाङ, पूर्वअध्यक्ष कुमार, सहसचिव मन्जु गुरुङ राई, सल्लाहकार योगेश गुरुङलगायत पदाधिकारी तथा कार्यसमिति सदस्य, तमुधिं नेपालका अध्यक्ष हुम, गोर्खा मिडियाका सञ्चालक मिलन तमु, एभरेस्ट टाइम्स डटनेटका प्रधान सम्पादक एसके गुरुङ, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ, कलाकार तथा सञ्चारकर्मी बालकाशी गुरुङ, तमु मैताका सञ्चालक युग तमु, गायिका सबिना गुरुङलगायत छन् ।
ल्वाङ सामुदायिक होमस्टे २०६७ सालमा स्थापना भएको हो । ७ घरबाट सुरु भएको होमस्टे हाल २६ घर पुगेको सचिव तीर्थबहादुर गुरुङले जनाए । उनका अनुसार अहिले अन्य होटल र होमस्टे गरी ३०/३१ ले दिइएको छ । सचिव गुरुङले ल्वाङ होमस्टे नमुनाको रुपमा देश विदेशमा परचित हुँदै गएको दाबी गरे ।
पर्यटक संख्या बढ्दै गइरहेको भन्दै उनले दसैं तिहारपछिको समयमा ल्वाङमा धेरै पर्यटक आउने र घुइँचो लाग्ने बताए । त्यस्तै साताको शुक्रबार पनि होमस्टे भरिभराउ हुने गरेको छ ।