पोखरा । पोखराका क्रियाशील पत्रकार हुमबहादुर गुरुङ सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा सोमबार कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक रहेका गुरुङलाई 'प्रेस चौतारी पत्रकारिता सम्मान' प्रदान गरेको हो । गोर्खा मिडियाको सम्पादकको भूमिकामा समेत रहेका गुरुङ साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकार महासंघ कास्कीका पूर्वकार्यसमिति सदस्यसमेत रहेका उनले अहिले तमुधिं नेपालको नेतृत्व गरिरहेका छन् ।
प्रेस चौतारी पत्रकारिता सम्मानबाट मीना गुरुङ पनि सम्मानित भइन् । उनीहरुलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यवहाक अध्यक्ष मोतीसागर अधिकारी लगायतले पुरस्कार अर्पण गरे ।
सोही अवसरमा पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व माधव बराल, सम्मानित व्यक्तिद्वय हुम तमु र मीना गुरुङ, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, प्रेस चौतारीका संस्थापक अध्यक्ष पूण्य पौडेल, पूर्व अध्यक्ष हरि बाँस्तोला, नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस चौतारी कास्कीका उपाध्यक्ष बालकुमारी पौडेल तारा, सचिव रञ्जन अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।