लन्डन । बेलायतवासी साहित्यकार माया गुरुङ नवरत्न पुरस्कारबाट सम्मानित भएकी छन् ।
मायासहित ९ जनालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आइतबार सम्मान गरेको हो । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
साहित्यकार माया गुरुङको जन्मस्थान सिरुबारी पञ्चमूल, स्याङ्जा (होमस्टे गाउँ) नेपाल हो । बुबा दानबहादुर गुरुङ र भीमकुमारी गुरुङको कोखबाट जन्मिएकी माया हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आएकी छन् । कर्मभूमि बेलायतको व्यस्त जिन्दगीबाट समय उभारेर माया साहित्य लेखनमा लगाइरहेकी छन् । सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आए पनि मायाले पहिलो कृति भने २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गरिन् । लगत्तै अर्को वर्ष २०७९ मा 'बाको जुत्ता' र 'ऐना' एकैपटक लोकार्पण गर्न सफल भइन् ।
कविता सिर्जनामा बढ्ता दख्खल राख्ने माया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य छिन् । हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको उपाध्यक्ष तथा सोंपाल समाज युकेको आमा अध्यक्ष छिन् ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गरेकी उनी राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार पाइन् ।
अनेसास बेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बनिन् भने कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छन् ।
यस्तै गोर्खा मिडिया डटकम अनलाइनको तेस्रो वार्षिकोत्सवको अवसरमा २०२३ सेप्टेम्बरमा माया साहित्यतर्फबाट समाज विकासमा पुर्याएको योगदानस्वरुप सम्मानित भएकी थिइन् ।
नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा रहेको पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको निर्णयअनुसार माया गुरूङ (साहित्य–बेलायत), अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा), रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य), शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-युरोप) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) बाट सम्मानित रहेका छन् ।
हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।