काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।
उक्त मुद्दामा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार यो नोटिस जारीपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा आरोपी भए वा नभएको लोकेट हुनेछ । त्यसपछि नेपाल ल्याउने प्रक्रिया हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै केही समयअघि पत्राचार गरेको थियो । सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर, पूर्वअध्यक्ष भुपेन्द्र राई र शिवबहादुर गुरुङ विरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको थियो । तीमध्ये शिवबहादुर आफै अदालतमा उपस्थित भएका थिए । बाँकी दुईको भने इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।
उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
उक्त मुद्दामा शिवबहादुर गुरुङसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा छन् । त्यसबाहेक अझै १५ जना प्रतिवादी फरार सूचीमा छन् । जसमा जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ हुन् ।
सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो ।