काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बिहीबार सातै प्रदेशमा मतदान भएको छ । रिक्त १९ सिटका लागि बिहान ९ देखि ३ बजेसम्म मतदान भएको हो ।
साँझसम्म प्राप्त अन्तिम मतपरिणाममा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले २ तथा एमाले र जसपाले १/१ सिट जितेका छन् ।
कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गरी एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन् ।
मधेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भइन् ।
बागमतीमा जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी कांग्रेसबाट निर्वाचित भए । माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल चुनिए ।
गण्डकीमा कांग्रेसबाट किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा माओवादीबाट मनरूपा शर्मा चुनिएका छन् ।
लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (कांग्रेस) र झक्कुप्रसाद सुवेदी (माओवादी) निर्वाचित भए ।
निर्वाचन आयोगका अनुसार कर्णालीमा कांग्रेसबाट कृष्णबहादुर रोकाया, माओवादीका विष्णुबहादुर विश्वकर्मा र
एकीकृत समाजवादीबाट सावित्री मल्ल विजयी भए । सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र माओवादीकी रेणु चन्द विजयी भए ।
बागमतीबाट सबैभन्दा बढी ४ सिटका लागि निर्वाचन हुँदा कोशी, मधेश र कर्णालीमा २÷२ तथा बाँकीमा ३÷३ सिटका लागि चुनाव भएको हो ।
चुनावसँगै प्रतिनिधि सभामा ३२ सिटसहित तेस्रो स्थानमा रहेको माओवादी राष्ट्रिय सभामा भने पहिलो दल बन्ने भएको छ । बिहीबारको चुनावमा आफ्नो भागबन्डामा परेका ६ मध्ये ५ उम्मेदवारलाई विजयी गराएर माओवादी पहिलो दल बन्ने भएको हो । अझ कोशीमा चन्दा कार्कीले अप्रत्याशित हार व्यहोरेपछि माओवादीलाई एक सांसद घाटा लागेको छ।
कुनै समय ठूलो अन्तरसहित पहिलो स्थानमा रहेको एमाले निरन्तर खुम्चिँदै तेस्रोमा झर्ने देखिएको छ ।
फागुन २० पछि नवनिर्वाचित सांसदले पदभार ग्रहण गर्दा राष्ट्रिय सभामा एमालेका १० र एकीकृत समाजवादीका ८ सदस्य हुनेछन् । हालसम्म राष्ट्रिय सभामा १८ सांसदसहित एमाले पहिलो स्थानमा छ । उसले ९ सदस्यको पदावधि सकिँदा १ सिटमात्र जोगाएको हो ।
फागुन २० गते एकतिहाइ सदस्यको पदावधि सकिँदैछ ।
यसरी माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, समाजवादीका ८, जसपाका ३, मनोनीत २, राष्ट्रिय जनमोर्चा र लोसपाका १(१ गरी २ समेत ५८ सदस्य राष्ट्रिय सभामा हुनेछन् ।
थप एक जना महिला सदस्य मनोनीत भएपछि कुल सदस्य संख्या ५९ कायम हुनेछ ।