लन्डन । तमु समाज यूकेले विगतझैं यस वर्षपनि नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको पावन अवसरमा देउसी भैलो खेलेको छ । गत २९ अक्टोबर शनिबार आफ्नै कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्यसंग देउसी भैलो कार्यक्रम गरिएको हो ।

प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा स्वर्णीम संस्कृतिको सकरात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्यहरु तथा शुभचिन्तकबीच पारस्परिक सम्बन्धलाई सवल, प्रगाढ र सुमधुर बनाउनसाथै तमु समाज यूकेको समाजिक भवनका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्य लिई देउसी भैलो खेलिएको समाजले जनाएको छ । उक्त कार्यक्रममा उल्लेख्य सहभागितासहित मानिसहरुले मन खोलेर दान दिएका थिए ।

कार्य व्यस्तता र समय अभावका कारण भैलरीहरु सबैको घर घर जान सम्भव नभएपनि फुर्सद भएका सबै सदस्य र शुभचिन्तकहरु सामूहिकरुपमा आफ्नै कम्युनिटी सेन्टरमा भेला भएर धैरैले दान सहयोग प्रदान गरेका थिए। विविध कारण कार्यक्रममा सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले उदारभाव दर्शाइ अनलाइन बैंकिङबाट पनि दान दिएर सहयोग गरेका थिए । दान दिने सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङ र आमा समूहकी अध्यक्ष उमादेवी गुरुङले धन्यबाद सहित तिहारको शुभकामना दिएका थिए ।

आफ्नो समाजको पवित्र उद्देश्यका निम्ति सकेको सहयोग गरौं भन्ने भावनाबाट उत्प्रेरित सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानले यसपटक पनि उल्लेख्य झन्डै ४ हजार पाउन्ड दान संकलन गर्न समाज सफल भएको छ। यसले समाजका सदस्यहरु र शुभचिन्तकबीचको पारसपारिक समझदारी, लगनशीलता र दरिलो एकता प्रतिबिम्बित गरेको छ । तमु समाज यूके अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा महासचिव धरम बल गुरुङले संचालन गरेको देउसी भैलो संयोजन उपाध्यक्ष भिम बहादुर गरुङले गरेका थिए।

कार्यक्रम संयोजक उपाध्यक्ष गुरुङलाई दान संकलन कार्यमा कोषाध्यक्ष खेम बहादुर गुरुङ र कार्य समितिका सदस्य जङ्ग बहादुर गुरुङले सघाएका थिए । देउसी भैलो कार्यक्रममा मूलतः फर्सद भएका सदस्यहरु र आमा समूहका आमाहरु, जेष्ठ नागरिक तथा दिदीबहिनीले जातिय पहिरनमा सजिएर सकृय सहभागिता जनाएका थिए।

समाजका अध्यक्ष शिव कुमार गुरुङ, आमा समूहका अध्यक्ष उमा देवी गुरुङ र जेष्ठ नागरिक तथा आमाहरु बुद्धि कुमारी गुरुङ, मन कुमारी गुरुङ, कुबिन्धर गुरुङ र माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि आरम्भ गरेको देउसी भैलो कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षद्वय शिवशरण गुरुङ र अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङको विशेष उपस्थिति थियो । यसैगरि समाजका विभिन्न पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु, आमा रदिदीबहिनीहरु एवं युवा सहभागी थिए।

दिउसो ४ बजे आरम्भ गरि बेलुका ११ बजे अन्त्य भएको कार्यक्रममा परम्परागत रुपमा केदारबहादुर गुरुङ र अर्जुनकुमार गुरुङ, माया गुरुङ, विमला गरुङ, मनकुमारी गुरुङ र बिन्दु घलेले देउसी भैलो भट्याएका थिए भने प्रज्वल गुरुङको डिजेमा तिहार गीतमा नाचगान गरेर उपस्थित सबैले भरपूर मनोरञ्जन लिए । कार्यक्रममा आमा समूहको संयोजनमा स्वस्फूर्त विभिन्न सदस्यले प्रायोजन गरेका थुप्रै परिकार र पेय पदार्थ सबैलाई निशुल्क उपलब्ध गराइएको थियो ।