पोखरा । पोखरामा मंगलबारदेखि २३ औं आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ गोलअन्तरले पराजित गर्दै पाँचौं पटकसम्मको विजेता थ्रि स्टार क्वाटरफाइनल पुगेको छ ।
खेलको छैटौ मिनेटमा प्तान योगेश गुरुङले रिबाउन्डबाट प्राप्त बल सदुपयोग गर्दै थ्रिस्टारलाई अग्रता दिलाएका थिए ।
सहाराका लागि आशीष गुरुङले हेडमार्फत गोल गर्दै बराबरी खेलेका थिए । लक्ष्मण रुचालको फ्रिकिकमा उनले बललाई पोस्टको दिशा दिँदा सहाराका समर्थकले हुटिङ गरेका थिए । पहिलो हाफ १–१ गोलमा सकिएकोमा ५९ औं मिनेटमा थ्रि स्टारले एञ्जल महर्जनको गोलमार्फत पुनः अग्रता लियो । महर्जनको लामो फ्रिकिक प्रहार सिधैँ गोलपोस्ट छिरेको हो । खेलमा योगेश म्यान अफ दि म्याच बने ।
अब थ्री स्टारले १३ माघमा हुने पहिलो क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार राइजिङ स्टार फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यही माघ २० सम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । जसमा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन् ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन् ।
यसैबीच, सहाराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनलाई नगद ५० हजारसहित सम्मान गरे ।
प्रतियोगिता उद्घाटन गर्दै मेयर आचार्यले खेलका कारण राष्ट्रको पहिचान दिलाउन सक्ने जनाउँदै आहा रारा पोखरा गोल्डकपको महत्व पनि उत्तिकै रहेको बताए । उनले महानगरको कार्यपालिका बैठकले निर्णय गरी यस वर्षदेखि महानगर संरक्षक बन्ने निर्णय गरेको बताए ।
क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्चिने भएकोले प्रतियोगिता सफल पार्न सबैसँग आग्रह गरे । कार्यक्रममा स्वागत प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ र संचालन महासचिव रामजीप्रसाद अधिकारीले गरेका थिए ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक हो ।
प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
बचत रकम सहारा एकेडेमीमा खर्च गरिने छ । पोखराको दोबिल्लामा संचालित एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन् ।
आहाराराकै निम्ति सहारा युकेबाट पनि कृष्ण गुरुङ नेतृत्वको टिम पोखरा आएको छ ।