पोखरा । सहारा क्लब पोखराले सहारा युकेको टोलीलाई पोखरामा स्वागत गरेको छ ।
सहारा क्लब पोखराद्वारा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकप–२०८० मा सहभागी हुन सहारा क्लब अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा एक टोली पोखरा आएको छ । उक्त टोलीलाई सोमबार पृथ्वीचोकस्थित क्लबको कार्यालयमा एक समारोह आयोजना गरी स्वागत गरिएको हो ।
उनीहरुलाई सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराललगायतले खादा लगाउँदै स्वागत गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
युकेबाट सहारा क्लब युकेका सहसचिव मञ्जु गुरुङ राई, महेश गुरुङ, पूर्व प्रमुख सल्लाहकार हरिकुमार श्रेष्ठ, सल्लाहकार कृष्णबहादुर गुरुङ, भोजबहादुर गुरुङ, कार्यसमिति सदस्य एवं गोखा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको उपस्थिति थियो ।
पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुन लागेको फुटबल प्रतियोगितामा यसपालि आयोजकसहित १२ टिमले भाग लिएका छन् । प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए । प्रतियोगिताको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन् । उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र थ्रिस्टारबीच हुनेछ ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन् ।