कास्की । गुरुङ समुदायको ऐतिहासिक रमणीय पर्यटकीय गाउँका रुपमा परिचित सिक्लेस गाउँमा ‘सिक्लेस माघे मेला २०८०’ सम्पन्न भएको छ ।
सिक्लेस युवा क्लबको आयोजनामा यही माघ १ देखि ४ गतेसम्म मेला चलेको थियो । क्लबले प्रत्येक वर्ष महोत्सव गर्दै आएको छ । परम्परागत छेलो प्रतियोगितामा प्रथम रोहित सुनार, द्वितीय बलबहादुर सुनार भएका छन् । खुल्ला सामूहिक नृत्य प्रतियोगितामा प्रथम आदिम कला मञ्च पोखरा, द्वितीय टिम भुजुङ्ग, तृतीय घान्द्रुक क्रोम्छै युवा समिति र सान्त्वना सिल्दुदेउराली युवा क्लब खाँदरजुङ्ग बने ।
पुरुष भलिबलमा प्रथम सिक्लेस पार्क एन्ड टेण्ट हाउस र द्वितीय राङ्गखोला स्याङ्जा तथा महिला भलिबलतर्फ प्रथम पाखुरीकोट युवा क्लब र द्वितीय डि-७ सिक्लेसले जित हासिल गरेका छन् ।
पुरुष बास्केटबलमा प्रथम ताङ्गतिङ्ग युवा क्लब र द्वितीयमा मर्दीखोला तथा कुर्सी घुमाईतर्फ प्रथम मनिषा आचार्य र द्वितीय बिना गुरुङ बने ।
प्रतियोगितामा पुरुषतर्फको भलिबल र बास्केटबलमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार पुरस्कार हात पारेका छन् । नगदसँगै प्रतियोगितामा प्रथम र दोस्रो हुनेले ट्रफी मेडल साथै प्रमाणपत्र पाए । महिला भलिबलमा प्रथम हुने समूहले ३० हजार र द्वितीय हुनेले २० हजार पाए ।
अन्तर गाउँ स्तरीय सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले ६५ हजार, द्वितीय हुनेले ४५ हजार र तृतीय हुनेले ३० हजार पाए । प्रतियोगिताको उत्कृष्ट नृत्य निर्देशकले र उत्कृष्ट भेषभुषा पहिरिने ५/५ हजार पाएका छन् ।
मेलामा सबिना गुरुङको नेतृत्वमा लाईभ दोहोरी प्रस्तुति रहेको थियो ।
ग्रामीण पर्यटक केन्द्रको रुपमा विकास हुँदै गएको सिक्लेस गाउँमा पर्यटकको सुविधाका लागि हाल सुविधा सम्पन्न होटल, होमस्टे सञ्चालनमा छन् । सुन्दर पर्यटकीय नगरी पोखराबाट करिब ४२ किमिको दुरीमा पर्ने यो गाउँमा ३ घण्टाको मोटर यात्रापछि पुग्ने सकिन्छ । यहाँका पर्यटन व्यवसायहरुको अनुसार चालु आर्थिक वर्षको भदौदेखि मंसिरसम्म ४० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुगेको पूर्व सचिव गुरुङले जानकारी दिए । सिक्लेसबाट नेपालकै कम उचाइमा अवस्थित कपुचे हिमाल, कोररी लेक, तमुहरुको आदिम थाँतथलो क्व्होलासोंथर सहजै पुग्न सकिन्छ ।
सिक्लेस गण्डकी प्रदेश कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ अन्तर्गत अन्नपूर्ण हिमालको काखमा अवस्थित यो गाउँमा ४ सय ५० घरधुरी छन् ।