पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी इन्टरनेशनल डिष्टिक्ट ३२९२ बीच सम्झौता भएको छ ।
म्याराथनमा सहप्रायोजकरुपमा ३ वर्षसम्म सहकार्य गर्नबारे दुवै पक्षबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुबीच पोखरामा आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सोअनुरुप रोटरीले पोखरा म्याराथन सम्पन्न गर्न हरेक वर्ष नगद २ लाख प्रदान गर्ने छ । रोटरीयनहरु पोखरा म्याराथनमासमेत सहभागिता जनाउन सक्ने छन् । रोटरी डिष्टिक्ट ३२९२ मा अन्तर्गत नेपालमा १ सय ५४ रोटरी क्लब छन् । पोखरामा ९ क्लब छन् ।
मञ्चका अध्यक्ष पराजुलीले पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्रान्डिङमा टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सहप्रायोजकको रुपमा मात्रै नभई रोटरी खेलकुदमार्फत अभियानमा जोडिनु महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
गभर्नर ध्वजुले खेलकुदमा प्रतिष्ठित संस्था मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको बताए।
मञ्चका निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङले मञ्च र म्याराथनको बारेमा जानकारी दिंदै रोटरीसँगको समन्वय महत्वपूर्ण रहेको बताए । रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्षसमेत रहेका उनले रोटरी अभियानको क्षेत्र फराकिलो रहेकोले यो सम्झौताले नेपाली खेलकुदसँगै पोखरा म्याराथनलाई भव्यरुपमा सम्पन्न गर्न आर्थिक, नैतिक र भौतिकरुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए ।
आगामी फागुन ५ मा पोखरा रंगशालाबाट सुरु हुने विभिन्न ७ इभेन्टको म्याराथनमा धावकको दर्ता प्रक्रिया जारी छ ।
म्याराथनमा खुलातर्फ ४२ दशमलब १९६ किमीको खुला म्याराथन, महिलातर्फ २१ किमीको हाफ म्याराथन, पुरुष/महिला १० किमी, छात्र/छात्रा ५ किमी, महिला पुरुष भेटेरान्स ५ किमी, महिला पुरुषतर्फ ह्विलचियर र दृष्टिविहीन दौड प्रतियोगिता हुनेछ ।
साथै रन फर फन पनि हुने छ । आयोजकले पुरस्कारको लागि मात्रै १८ लाख १६ हजार खर्चिने छ । पोखरा म्याराथनका मिडिया पार्टनर गोर्खा मिडिया पनि हो ।