कास्की । चिउली नासा अर्थात् ‘सिक्लेस गाउँ’ मा माघ १ देखि ४ गतेसम्म ‘सिक्लेस माघे मेला २०८०’ हुने भएको छ ।
गुरुङ समुदायको ऐतिहासिक रमणीय पर्यटकीय गाउँका रुपमा परिचित सिक्लेस गाउँमा पर्यटन प्रवद्र्धन गर्न २८ वर्षअघि सिक्लेस युवा क्लबले महोत्सव सुरु गरेको थियो । क्लबले आफ्नो २९ औं वार्षिकोत्सव उत्सवको अवसरमा प्रत्येक वर्ष महोत्सव गर्दै आएको छ । स्थानीय पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनको बजारीकरण गरी युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको क्लबले प्रत्येक वर्ष माघे संक्रान्तिमा मेला आयोजना गर्छ ।
खेलकुदमार्फत आपसी सदभावसँगै पर्यटन प्रवद्र्धन गर्न ‘सबै सिजनमा सिक्लेस जाऔं है सिक्लेस’ भन्ने नाराका साथ यस वर्ष पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल लगायत लोपोन्मुख नृत्य प्रतियोगिता तथा रस्साकस्सी प्रतियोगिता साथ विविध सांस्कृतिक कार्यक्रम हुने क्लबका पूर्व सचिव एब मेला प्रचारप्रसार संयोजक मिलन गुरुङले बताए । प्रतियोगितामा पुरुषतर्फको भलिबल र बास्केटबलमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले पुरस्कार ५० हजार पुरस्कार हात पार्नेछन् । नगदसँगै प्रतियोगितामा प्रथम र दोस्रो हुनेले ट्रफी मेडल साथै प्रमाण पत्र पाउने गुरुङले जानकारी दिए । महिला भलिबलमा प्रथम हुने समूहले ३० हजार र द्वितीय हुनेले २० हजार पाउने छ ।
अन्तर गाउँ स्तरीय सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले ६५ हजार, द्वितीय हुनेले ४५ हजार र तृतीय हुनेले ३० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट नृत्य निर्देशकले र उत्कृष्ट भेषभुषा पहिरिने ५÷५ हजार पाउनेछन् । खेती किसानी र वैदेशिक रोजगारीलाई मुख्य आयस्रोत मान्दै आएको सिक्लेस पछिल्ला दिनमा पर्यटकीय केन्द्रका रुपमा स्थापित बनेको छ । गाउँमा पर्यटकहरुको चहलपहल बढ्न थालेपछि व्यवसाय उन्मुख हुन थालेका छन् ।
ग्रामीण पर्यटक केन्द्रको रुपमा विकास हुँदै गएको सिक्लेस गाउँमा पर्यटकको सुविधाका लागि हाल सुविधा सम्पन्न होटल, होमस्टे सञ्चालनमा छन् । सुन्दर पर्यटकीय नगरी पोखराबाट करिब ४२ किमिको दुरीमा पर्ने यो गाउँमा ३ घण्टाको मोटर यात्रापछि पुग्ने सकिन्छ । यहाँका पर्यटन व्यवसायहरुको अनुसार चालु आर्थिक वर्षको भदौदेखि मंसिरसम्म ४० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुगेको पूर्व सचिव गुरुङले जानकारी दिए । सिक्लेसबाट नेपालकै कम उचाइमा अवस्थित कपुचे हिमाल, कोररी लेक, तमुहरुको आदिम थाँतथलो क्व्होलासोंथर सहजै पुग्न सकिन्छ ।
मेलाले सिक्लेसको तीर्थस्थलहरु म्हउदु क्यु र फैमक्युको प्रचारप्रसार संरक्षण र विकास गर्ने अपेक्षा लिइएको छ । परम्परागत रुपमा स्थानीय सभाथर टोलले सञ्चालन गर्दै आएको खुला ठेलो प्रतियोगिताको प्रचारप्रसार र व्यापक सहभागिता गराउनेछ । मेलाबाट १० लाख ५ हजार आम्दानी गर्ने लक्ष्य क्लबसँग छ । उति नै रकम खर्च हुने अनुमान छ ।
सिक्लेस गण्डकी प्रदेश कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ अन्तर्गत अन्नपूर्ण हिमालको काखमा अवस्थित यो गाउँमा ४ सय ५० घरधुरी छन् ।