काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि देशभर ५२ जनाको मनोनयन दर्ता भएको छ ।
सोमबार सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी माघ ११ मा १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपांगता भएका व्यक्ति वा अलपसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
बिहान १० देखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए । आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५, मधेस प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
बागमतीमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ दलका तर्फबाट, अपांगा भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ३ दलका तर्फबाट र अन्य समूहका लागि ४ दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
लुम्बिनीमा महिला समूहका लागि ३ दलका तर्फबाट र अन्य समूहका लागि ४ दलका तर्फबाट ७ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
गण्डकीबाट महिला समूहका लागि ३ दलबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलबाट र अन्यका लागि ३ दलबाट मनोनयन दर्ता भएको छ ।
कर्णालीमा महिला समूहका लागि २ दलका तर्फबाट, दलित समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ दलका तर्फबाट ६ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि ३ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।