काठमाडौं । साहित्यकार गौरीसरा गुरुङ (गौरी तमु) ले गुरुङ स्रष्टालाई मातृभाषामा लेख्न तथा लेखनको श्रमको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् ।
गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा साहित्यकी अन्वेषक उनले साहित्यको विकासमा विभिन्न आवश्यक कृतिहरु मातृभाषामा अनुवाद गर्ने, पुरस्कार सम्मान आदिको व्यवस्था गर्ने, देशविदेशमा आयोजना हुने कार्यक्रममा गुरुङ स्रष्टाहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिइन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शुक्रबार मातृभाषा साहित्य श्रृंखलाको पाँचौं अध्याय कार्यक्रमममा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।
सो कार्यपत्रमा पहिचानसम्बन्धी अवधारणा, गुरुङ साहित्यको विकास र विस्तार, गुरुङ भाषाको साहित्य, श्रुति साहित्य, लिखित साहित्य, श्रव्य दृश्य साहित्य, गुरुङ भाषाको साहित्यमा पहिचान, गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि विषयवस्तु समेटिएको छ ।
गुरुङ समुदायको मौखिक साहित्य पुरानो भए पनि लिखित साहित्य भने २०११ सालमा लमजुङ गिलुङका बृखरास गुरुङ र भासु गुरुङले संकलन गरेको गुरुहरुको दाहसंस्कारमा गाइने सेर्गा क्वै पनि प्रथम कृति भएको उनले बताइन् । गुरुङ साहित्यको पहिचानमा गुरुङदेखि गैर गुरुङ सबैको सहभागिता भएको भन्दै तमुले गुरुङको साहित्य श्रुति साहित्य, लिखित साहित्य र श्रव्य दृष्य साहित्य गरी तीन रुपमा आएको बताइन् ।
उक्त कार्यपत्रमाथि सहभागीतर्फबाट सिताराम गुरुङ, रामकाजी कोने, मणिराज गुरुङ, सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमदालीको देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको हो । प्रतिष्ठानद्वारा हरेक महिनाको अन्तिम शुक्रबार मातृभाषा साहित्य शृंखलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचान गरी तिनकोअस्तित्व संरक्षण गर्न दत्तचित्तका साथ प्रतिष्ठान लागिपरेको बताए ।
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव) ले मातृभाषा साहित्य शृङ्खलाले पहिचान र चेतनालाई व्यापक बनाउन र एकआपसमा सुपरिचित हुन सहयोग पुगेको बताए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख एवं कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले आफ्नो मातृभाषालाई व्यक्तिले संरक्षण गरेर मात्रै सम्भव छैन भन्दै त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।