घरमा पहिले सबै साना थिए
हाँसो ठूलो थियो, भोक कम
हाँसो हराउँदै गयो, भयो के होला काम
को कहाँ गयो, कसैलाई थाहा भएन
मान्छे हरायो कि भावना
के हरायो होला
मान्छे हेर्ने अथवा घर हेर्ने चाहना
अब बाँकी मात्र भयो बहाना।
‘आए, आए’ भन्दा पनि नआउँदा पनि थियो
थोरै–बहुत आशा, अपेक्षा र चाहना
तर बिस्तारै त्यो आवाज पनि हरायो
अब ‘आए, आए’ होइन
अब आयो त मात्र मौनता
जुन शब्दभन्दा ठूलो थियो अर्थ
कहाँ गयो मेरो घर
कहाँ गयो रहर
सबै मरी त गएन
कि मरी गयो मेरो घर।
आयो है आयो मेरो छोरा–छोरी
के ऊ मेरो मात्र हो र
ऊ त यो घरको पनि हुने छोराछोरी
मर्न त पक्कै दिन्न होला है
म मरी गए पनि
हाँसो त पक्कै रोकिँदैन होला है
म चली गए पनि
याद मेरो होइन, घरको आओस्
मरी म जाऊँ तर यो घर न मरिजाओस्
मेरो घर कहाँ गयो होला
भन्ने दिन मेरो छोरा–छोरीलाई कहिल्यै नआओस्।
सास घट्दै छ, घाम ढल्दै छ
साथीको नाममा
यो झ्याल, ढोका अनि घरको डिल छ
मेरो घरले मलाई सुरक्षित राख्यो
यत्तिका वर्ष
अब मसँगै बिस्तारै
यो घर पनि मर्दै छ
मेरो सबै खुसी
यो घरको भित्तामा छ
मेरो सबै संवाद
यो घरको कुनाकुनामा छ
मेरो घर कहाँ गयो होला!
आज कसैले पनि सुनिदिएन
त्यसैले यो प्रश्न
मैले उसैलाई पो गर्दै हो कि न
उसले भन्यो
तिमी मरे पनि,
म त्यति चाँडै मर्दिन
तिम्रो कथा सबैलाई सुनाउँछु
तर पीडा कसैलाई देखाउँदिन
रुन मन लागे
झरी कुर्छु
तर तिम्रो संवाद
कसैलाई भन्दिन।
यति सुन्दा त आहा!
एकछिन मन फुरुङ्ग भयो
फेरि लाग्यो
तिमी नै त हौ
मेरो कुरा सुनिदिने
तिमी नै त हौ
मेरो पीडा बुझिदिने
यति भन्दै मन बुझाएँ
तर एकछिनमै
सबै कुरा
उडेर जाने पुतलीझैँ बिर्सिएँ
मन एक्कासि झसङ्ग भयो
मनमा फेरि कुरा आयो
मरी म जाऊँ तर यो घर न मरी जाओस्
मेरो घर कहाँ गयो होला!
भन्ने दिन
मेरो छोरा–छोरीलाई
कहिल्यै नआओस्।