लन्डन। बेलायतस्थित वेल्सको ऐतिहासिक शहर ब्रेकन आसपासलाई आधार बनाएर नेपाली गाउँ बनाइने भएको छ ।यहाँका समुदाय नेपाली गाउँ बनाउने अभियानमा सक्रिय रुपमा लागेका छन् । नेपाली भिलेज यूके परियोजना अनुरुप यहाँका नेपालीले ब्रेकन टाउनबाट केही माइल दुरीमा चार बेडरूम घर सहितको १९ एकड (लगभग १५५ रोपनी) को प्लट जग्गा ८ लाख पचास हजार पाउण्डमा किन्न जग्गाधनीसंग सहमति गरेका छन् ।
योजना गोर्खा मेजर खुशीमान गुरुङ एमभिओको नेतृत्वमा सो क्षेत्रमा उपयुक्त जग्गा किनेर त्यसमा क्याम्पिङ साइटलगायत होलिडे स्थलका निमित्त आवश्यक संरचनासहित परम्परागत नेपाली घरहरु, वर–पिपलसहितको चौतारी, ढुङ्गेधारा, नेपालका प्रमुख दुई आस्थाका केन्द्र पशुपतिनाथ र स्वयम्भुनाथ साथै ध्यानकेन्द्र बनाउने योजना अगाडि बढेको हो ।

उनका अनुसार नेपालका प्रमुख हिमालहरुका प्रतिकृति (रेप्लीका) बनाएर यो गन्तव्यमा आउने सम्पूर्णलाई नेपालको ग्रामीण जीवनशैलीबारे जानकारी गराउने र त्यसै अनुसारको स्वाद दिलाउने योजना बनाइएको छ । उक्त जग्गा व्यवसायिक प्रयोजनका लागि आवश्यक स्विकृति (प्लानिङ पर्मिसन) पाउने सम्भावना राम्रो, जग्गा परियोजनाको उद्देश्य अनुसार चाहिने खालको धरातल भएको, छेउमा सानो खोला, आफ्नै परिसरमा पानीको मुहान पनि रहेको, वरपर क्यानोइङ, हाइकिङ, बोटिङ व्यवसाय सन्चालन गर्न सकिने भएकाले जग्गा खरिद प्रक्रियाका लागि कानूनी सल्लाहकारमार्फत काम सुरु भइसकेको प्रवक्ता विक्रम भट्टराईले बताए ।

परियोजनाको मुख्य उद्देश्य नेपाली पर्यटन प्रवद्र्धन गर्दै कला संस्कृति अनि परम्परा संरक्षण र संवर्धन गर्ने रहेको छ । ब्रेकन टाउन नेपालको कास्कीस्थित धम्पुस गाउँसंग भगिनी सम्वन्ध स्थापना गर्ने पहिलो आधिकारिक शहर पनि हो ।
प्रति शेयर पाँच हजार पाउन्ड रहेको परियोजनामा हालसम्म १६१ संस्थापक शेयरहोल्डरले आफ्नो शेयर रकम जम्मा गरिसकेका र ४२ जनाले अक्टोबर ३१ सम्म जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् । परियोजनामा ११ जना बोर्ड अफ डायरेक्टर छन् ।
एक मिलियन (दश लाख) पाउन्डको मुलधनबाट शुरु हुन लागेको परियोजना ‘नेपाली भिलेज यूके’ का बोर्ड अफ डाइरेक्टरहरुले जग्गा खरिद गर्दा पर्ने लागत, यसको शेयर मूल्य र शेयरहोल्डर संख्यामा पार्ने असरबारे संस्थापक शेयरहोल्डरहरुसंग बृहत्तर छलफल पनि गर्दैछन् । हरेक नेपालीलाई जोड्न सक्ने पहिलो ऐतिहासिक परियोजनाको संस्थापक शेयर होल्डर हुन अब केवल केही बाँकी रहेको जनाएको छ । योजनामा सहभागी हुन परियोजनाले वेवसाइट https://www.nepalivillageuk.com/ मा गएर सम्पर्क गर्न अनुरोध गरेको छ ।