लण्डन । गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा ञ्युङ्ने ब्रतबारे धार्मिक प्रवचन दिने भएको छ ।
बीसीसी युकेको बिशेष अनुरोधमा हाल बेलायत भ्रमणमा रहेका खेन्पो शीर लामाले आउँदो आइतबार २३ अक्टोबरका दिन दिउँसो १ बजेबाट उक्त प्रवचन दिन लागेका हुन् । बौद्ध परम्परामा ञ्युङ्ने ब्रतलाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ । उक्त ब्रत बस्नले कल्पौंको पापशोधन र पुन्य संचय हुनुका साथसाथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायू प्राप्त हुने विश्वास गरिन्छ ।
उक्त ब्रत के का लागि, कस्का लागि, किन बसिन्छ ? र, कसरी बस्नु पर्दछ भन्ने बारेमा खेन्पो शीर लामाले जानकारी गराउने छन् । सो अवसरमा बीसीसी युकेले खेन्पो शीर लामालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको बीसीसी युकेका महासचिव क्याप्टेन देब घलेले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा खेन्पो शीर लामाको स्वागत तथा सम्मान गरिने छ भने सो पश्चात प्रवचन हुने छ ।
त्यस्तै, उक्त दिन बीसीसी युकेको निमन्त्रणामा सोमबार बेलायत आएका खेन्पो टासी छिरिङ्गको औपचारिक रुपमा स्वागत गर्ने र बीसीसी युकेको निमन्त्रणामा गत जुनमा भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्ग दोर्जीको बिदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बीसीसी युकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ्ग र खेन्पो केल्जङ्ग दोर्जीको समेत बिशेष उपस्थिति रहने उक्त प्रवचन, स्वागत एवं बिदाइ कार्यक्रममा सहभागी भैदिनहुनका लागि बीसीसी युकेले बीसीसी युकेका ट्रष्टीज, लाईफ मेम्बर, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गरेको छ । त्यस्तै, उक्त दिन सहभागीहरुलाई निःशुल्क चियापानी, खाजा र खानाको समेत प्रवन्ध मिलाईएको बीसीसी युकेले जनाएको छ ।