प्रसिद्ध कवि अगम सिंह गिरीद्वारा चित्रित मर्माहत भाव स्मरण गर्न चाहेँ
कराई रहेथे गाई, बाख्रा साँझको घाँस नहाली गएका थियौ
तिमी फर्कने पहाड पथ पखेरुमा तिम्रा मायालुका तरुण्य लिपिएका आँखाले चिह्याएर पर्खिरहेकी होलिन्..
कहिल्यै घाम नअस्ताउने साम्राज्यवाद बेलायतको निम्ति पहिलो, दोस्रो विश्व र पछिका युद्ध भूमिहरुमा बलि चढाइएका हाम्रा बेपत्ता पूर्वज्भूपू लाहुरेहरु कसरी मारिए र कहाँ गाडिए अनि गाउँघर फर्की आफ्ना परिवारका साथ सुखसयलमा बाँच्ने सपनाहरु छातिभरि सजाउँदै कति घाइते पुर्खाहरुलाई जिउँदै अजिङ्गरले निले होलान् ! आफू जन्मिएको पाखापखेरुमाथि पाइला नफर्काई फेरि कहिल्यै परिवार देख्न पाएनन् । एउटा यथार्थभित्र, लाहुरेनी शान्ति माया लिम्बुको कथा, अमेट ब्यथा आज पनि धर्तीभरि रोइरहेको छ । जो आफ्नो श्रीमान्, एकदिन फर्किएर घर आउलान् भन्दै कुर्दाकुर्दै सदाका लागि बिलय भएर गइन् ! उही चित्रित कविता,
तिमी फर्कने पहाड पथ पखेरुमा
तिम्रा मायालुका तरुण्य लिपिएका आँखाले
चिह्याएर पर्खिरहेकी होलिन्..
कविताभित्रको भावमा मिल्दो तथ्य पात्र १६ वर्षको कोपिलामै विवाह गरी शान्ति माया लिम्बु राई, लाहुरे स्वामी फर्की भेट्ने स्वर्णिम सपना र भावना मुटुभित्रै छिपाई अस्तिसम्म प्रतिक्षामा बाँचिरहेकी थिइन् । तर तिनले ६९ वर्षको तिक्त निराशा आफैभित्र च्यापी जिन्दगीको अन्तिम श्वास भर्खरमात्र २००६ सालमा रोकी धर्तीबाट सदाका लागि बिदा लिएर स्वर्ग चढिन् ! मैले पनि समयमै घर फर्किएर मेरो जिन्दगीका सबैभन्दा अमूल्य बाबु र आमा देख्न पाइनँ ।
००
यस्ता लाहुरेको ब्थथा र गाथाभित्रका असह्य मर्महरु कसले बुझेका छन् । आमा, बाबु, भाइ,बहिनी, साथीसङ्गी, साइँली, माइलीलगायत प्रेमिल सोल्टिनीहरु र स्वर्गै बसाउने रमणीय पाखापखेरु कठै गाउँ घरको अभिछिन्न माया छातिभित्र मुटुको गुम्छाभरि पोको कसी घरकरेसो, खोलानाला नाघ्दै देशै छाड्न विवश, बाध्यतामा हाम्रा पूर्खा भूपूहरु र स्वमं हामी विवशता विदेशिएका थियौं । हाम्रा यतिधेरै पुर्खा भूपूहरु फेरि कहिल्यै आफ्नो गाउँ फर्किएनन् । जेजति हामी फर्कियौं, बाँचेकाहरुले पदमबहादुर गुरुङज्यूद्वारा देशको स्वाभिमानका निम्ति अनि हामी समस्त सबैका लागि क्रूर विभेदविरुद्ध प्रचुर आन्दोलनको बिजारोपण भएको थियो । सो हरेक र सबैका आन्दोलनहरुमा आर्थिक योगदान होस वा उपस्थितिमा तमाम जेष्ठ भूपू हामीहरु कहिल्यै पछाडि रहेका थिएनौ । तर आज किन हाम्रो आशामाथि उजाडपूर्ण निराशा पोत्दै हुनुहुन्छ ?
पराकाष्ठ विभेदी बेलायत सरकारले उसबेला आजका यिनै ज्येष्ठ भूपूहरुलाई बेखर्ची खाली खुट्टाका साथ केवल कात्रो मात्र दिएर पठाइएका थिए र कोही हामी पनि हौं । कतिका पेन्सन थिएन न त अहिले छ । बाँच्नुको लागि भत्ता थापेर यहाँ बेलायतमा काल पर्खिरहेका हामी ज्येष्ठ भूपूहरु एक अथवा दुई सालमा आफ्नो छोराछोरी, नातिनतिना र सबै आफन्तहरुलाई भेटेर मर्नका लागि मात्र पर्याप्त समय हामीले मागिरहेका हौं ।
उमेरको पाबन्दीका कारण ज्येष्ठ भूपूहरुकै छोराछोरीहरुले बेलायत प्रवेशाज्ञा पाएनन्, पाए त एक वा दुई जनाले मात्र । तसर्थ धेरै छोराछोरी र नाति नातिनाहरु स्वदेशको पाखापखेरुमै जीवन गुजारिरहेका छन् । बेलायतबाट घर गएर भेट्नै पर्ने हाम्रा आफन्तहरु टाढाटाढाका गाउँहरुमा बसोबास गरिरहेका छन् । कोही आफन्तहरुलाई भेट्न हिँडेर पुग्नुपर्छ । साथै आर्थिक समस्याले हवाई यात्राहरु कठिन त हुँदै हो, तैपनि सीमित ठाउँमा मात्र उपलब्ध छन् । बाटोबाट यात्रा नगरी हुन्न, जहाँ कहिले भलबाढी, कहिले पहिरोले छिटोमा एकहप्ता वा बढी रोकिनु पर्ने पीडा वास्तविकता छ । यिनै यथार्थ बुझेर बेलायत र नेपालबीच वार्ताका लागि महत्वपूर्ण मानवीय विवेक पुर्याई १३ बुँदे मागभित्र सबैका सहमतिद्वारा ९० दिनको विषय समावेश गरिएको थियो । अस्तिसम्म यही बुँदा जोडका साथ तपाईंहरुले नै वार्ताको १३ बुँदाभित्र राखेका छौं भन्दै स्वयं गौरवान्वित बन्नुहुन्थ्यो । तर आज कसरी र कसको कैफियतद्वारा ९० दिनको विषय बाहिर निस्कासित गरियो ?
स्विन्डनमा आएर मेजर जुद्धबहादुर गुरुङ स्वयंले ९० दिनको विषय १३ बुँदेमा नभएको जानकारी गराउनुभएछ । यदि यो एक वा दुई व्यक्तिले मात्र फालेका हुन् भने भूपू वार्ता पक्षका १० टिमको विशेष ठूलो जिम्मेवारीद्वारा यसलाई पूर्ण समावेश गरिदिनहुन हाम्रो खुला निवेदन छ । यसलाई अन्यथा नलिइदिनुहुन पनि अनुरोध गरेका छौं । तर अब केवल ज्येष्ठ भूपूहरुमात्र आफै तम्सिई लड्नु पर्ने बाध्यतामा छाड्नु हुने छैन भन्नेमा हामी आशा राख्न चाहन्छौं ।
मेजर जुद्धबहादुर गुरुङज्यूले नेपाल हाल बेलायत जस्तै भएको कारण गोराहरुले जस्तै तिमीहरुले पनि पाउँदैनौ भनी सम्झाएर जानुभएछ । बेलायत पक्षले भने होलान् । बेलायत पक्षद्वारा त पेन्सनकै कुरा गर्न पनि नचाहेको हामीले बुझिरहेकै छौं । यो ९० दिनको विषयमा आर्थिक, भौगोलिक र नेपालको परिस्थितिभित्र डुबेर विचारविमर्श वा गहिरो छलफलका साथ महत्वपूर्ण मानवीय विवेकमा १३ बुँदामा समावेश गरिएको थियो । यसकारण जटिल प्रश्न टिम १० को सहमति र जानकारीबिना त्यो ९० दिनको बुँदा कसद्वारा फालियो ? हामी ज्येष्ठ भूपूहरु १० टिमबाट जान्न विनम्र खुला निवेदन गरिरहेका छौं । भूपूगोरा आर्थिक र भौगोलिक सुविधाजनक साधनको कारण विश्वको कुनै पनि ठाउँमा ५ दिनभित्र आवतजावत गरी बाँकी १९ वा २० दिन आफन्तहरुसँग बिताउन सक्छन् भने भूपूगोर्खा कसै कसैलाई २० दिन त पुग्नुमात्र लाग्छ । सबै ज्येष्ठ भूपूका आफन्तहरु काठमान्डू र पोखरामा मात्र बसोबास गरिरहेका छैनन् ।
लालसुन्दर राई एवं सम्पूर्ण जेष्ठ भूपूहरु
(नेपाल र बेलायतबीच २२ नोभेम्बर २०२३ मा मन्त्रिस्तरीय बसिने वार्ताका भूपू पक्षका प्रतिनिधि १० दलप्रति ज्येष्ठ भूपूहरुका खुलापत्र)