लन्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा शनिबार १६ सेप्टेम्बरमा अल्डरसटमा रहेको एम्पायर हलमा भएको कार्यक्रममा प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर नीना गुरुङ रहेकी थिइन् । कार्यक्रममा विशेष अतिथिहरुमा सुखवती बौद्ध गुम्बा गाईघाट पोखराका प्रमुख लामा मनबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका वर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मेयर कन्सोर्ट ताईकाजी गुरुङ थिए ।
प्रमुख अतिथि, लामागुरु, संरक्षक र समाजका अध्यक्ष गोलमान गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाइएको थियो ।
महासचिव हरिमाया (भावाना) गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष भगवान गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि अत्यन्तै सुन्दर बाँसुरीको
धुनहरु प्रस्तुत गरेर बाँसुरी बादक धनबहादुर गुरुङले सबैलाई मन्त्रमूग्ध पारे ।
सम्मान तथा शुभकामना कार्यक्रममा परिवारका आयो गोर्खाली पुस्तक लेखक टीम आई गुरुङ र कम्प्युटर साइन्समा पीएचडी गरी हाल प्राध्यापनरत आशीष गुरुङलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । साथै हाल विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हासिल गरेका किशोरकिशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विभिन्न विश्वविद्यालयबाट स्नातक गर्नेहरु क्रमशः रोनित गुरुङ, आकंश्य गुरुङ र प्रविन गुरुङ थिए ।
त्यसैगरी नयाँ सदस्य बिकास गुरुङ, नवदाम्पत्य जोडीहरु र पदोन्नति भएका मिलन गुरुङलाई पनि बधाई दिए । नेपालबाट बेलायत भ्रमणमा रहेका सबै जनालाई स्वागत सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीहरुको तर्फबाट शान्ति गुरुङले माइतीहरुको लागि मन्तव्य राखिन् । चेलीबेटीहरुले सदाझैं कोसेलीस्वरुप रोटी र रक्सीले माइतीहरुलाई सम्मान गरे । रोटी र रक्सी चेली जगना गुरुङ र प्रेमबहादुर गुरुङले प्रायोजन गरेका थिए ।
त्यसैगरी धम्पुस पोखरी घोताने परिवार यूकेको बुहारी नीना गुरुङ बेलायतको स्थानीय तहको निर्वाचनमा मिडवेको मेयरमा निर्वाचित भई इतिहास रच्न सफल भएकोमा धम्पुस पोखरी घोताने परिवार यूकेको तर्फबाट सुन्दर केक काटेर खुशीयाली मनाउँदै सम्मान र शुभकामना दिए ।
मन्तव्य राख्ने क्रममा समाजका संरक्षक लेप्टिनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका वर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मौलिक गुरुङ पोसाकमा सजिएर आएकी प्रमुख अतिथि मेडवेकी मेयर काउन्सिलर नीना गुरुङले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको बताइन् । उनले सम्मानित व्यक्तिहरुलाई बधाईसहित हरितालिका तीजको सबैलाई शुभकामना दिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम हरिमाया गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा दाजुभाइ र चेलीबेटीको तर्फबाट उत्कृष्ट नृत्यहरू प्रस्तुत गरे । त्यसपछि नेपालको राष्ट्रिय कलाकार एवं लोकदोहोरी गायिका देवी घर्ती मगरको सुमधुर स्वरले उपस्थित सबैको मन जितेको थियो ।
निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रमपश्चात् प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमलाई दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।
आकर्षक पुरस्कारहरु रहेको राफल ड्रले पनि कार्यक्रमलाई रौनकता थप्यो । भाग्यशाली चिट्ठा हरिमाया गुरुङले सञ्चालन गरेकी थिइन् भने भाग्यशाली विजेताहरुलाई पुरस्कार वितरण भने समाजका ज्येष्ठ नागरिक आमाहरु र पहिलो पुरस्कार प्रमुख अतिथिले वितरण गरे ।
कार्यक्रममा खाना व्यवस्थापन साथै पेय पदार्थमा एम्पायर हल रेस्टुरेन्ट, साउन्ड सिस्टममा कमल थापामगर, फोटोग्राफीमा सन्तोष कोन्मे गुरुङ र भिडियोग्राफीमा नयन्द्र राईले विशेष भूमिका खेलेका थिए ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङको छोटो मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई सुनमा सुगन्ध थपी आफ्नो सुन्दर नृत्य, सुमधुर स्वर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन गराइ दिएकोमा समाजको तर्फबाट सबैलाई धन्यवाद दिए । साथै सम्मानित व्यक्तिहरुलाई शुभकामना, कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवादसहित हरितालिका तीजको शुभकामना दिए ।