लन्डन । बेग्लै सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका तुलसी क्षेत्री पछिल्लो समय अभिनयमा समेत व्यस्त हुन थालेकी छन् । कास्कीको लाहाचोकमा पिता चन्द्रबहादुर र माता जमुना जिसीको पाँचौ सन्तानको रुपमा जन्मिएकी क्षेत्रीले नायिकाको परिचय थप्न सफल भएकी छन् । उनले 'अग्निदहन'मा अभिनय गर्दै नेपाली फिल्मी क्षेत्रमा डेब्यू गरेकी थिइन् । त्यसपछि ‘क्या बात छ’ र ‘यस्तो पो वडाध्यक्ष’मा उनले काम गरिसकेकी छन् ।
२०६८ सालमा ‘वैश जोवनमै’ गीतमार्फत सांगीतिक क्षेत्रमा औपचारिकरुपमा पाइला टेकेकी क्षेत्रीका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिँड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘के मा बस्यो मोहनी’ ‘दिलभित्र चित्र’, मनले रोजेको आदि गीत चर्चामा छन् । लोकदोहोरी क्षेत्रमा बेग्लै पहिचान बनेका कारण सांगीतिक कार्यक्रमका लागि बेलायतलगायत विभिन्न मुलुक डुलिसकेकी छन् ।
फिल्ममा अभिनय गर्नुअगाडि नै म्युजिक भिडियोमा अभिनय गरेकी उनले आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जसले पनि ढाट्ने, बाला जोवन, आदि गीतको म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । पोखराबाट निर्माण भएको टेली फिल्ममा समेत उनको अभिनय देख्न सकिन्छ ।
गाउँमा तथा स्कुलमा आयोजना हुने कार्यक्रममा सहभागी बनेर उनले केही पुरस्कार जितेकी छन् । यसले उनलाई अगाडि बढ्न हौसायो । दिदी पार्वती जिसीको प्रेरणा, सहयोगले सांगीतिक क्षेत्रको यात्रा सहज बनेको उनी बताउँछिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की शाखाको उपाध्यक्ष रहेकी गायिका तथा अभिनेत्री क्षेत्रीको टिमले पोखराको न्यूरोडमा ससुराली दोहोरी साँझ सञ्चालनमा ल्याएको छ ।