लन्डन । जीएनसिएम गोर्खा नेपाली समाज मेडवे अध्यक्षमा भविन साम्पाङ राई निर्वाचित भएका छन् ।
उपाध्यक्षद्वय ज्ञानेन्द्र राई र स्म्रीता राई, महासचिव हरित पोख्रेल, सहसचिव केशब ढकाल, कोषाध्यक्ष रोशन राई, सहकोषाध्यक्ष उत्तर पतङवा चयन भए ।
यस्तै, सांस्कृतिक संयोजक सृजना निङ्लेकु, सांस्कृतिक सहसंयोजक चन्द्रावती राई, खेलकुद संयोजक राम काम्बाङ्, खेलकुद सहसंयोजक जोग आले, प्रोपर्टी, मिडिया, वेबमास्टर संयोजक मोहनसिं तामाङसहित महिला संयोजकमा उषा गुरुङ चयन भए । समाजको निवर्तमान अध्यक्ष सूर्यविक्रम राई सल्लाहकार नियुक्त भए ।
मेडवेको चाथाम टाउनमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा ब्रदर्समा सम्पन्न भएको नयाँ कार्यसमिति चयनका निमित्त निर्वाचन समितिमा पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय भीम राई र मेडवे काउन्सिल मेयर निना गुरुङ र बाबु पन्त रहेका थिए । नयाँ कार्यसमितिलाई निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो ।
मेडवे नेपाली समाज चर्चित र सफल समाज हो । पूर्व अध्यक्ष निना गुरुङ अहिले मेडवे काउन्सिलको मेयर (नेपाली मुलकी युकेको पहिलो महिला मेयर) हुन् । संस्थाले नेपालमा विभिन्न आर्थिक र भौतिक सहयोग निरन्तर गर्दै योगदान दिँदै आएको छ ।
मेडवे चर्चित गीतकार, कवि, लेखक र चर्चित युट्युबरहरुको बासस्थान भएकाले पनि यसै परिचित छ ।
को हुन् अध्यक्ष साम्पाङ ?
अध्यक्षमा निर्वाचित भविन नेपालको खोटाङमा जन्मिएका हुन् । उनको अफिसियल नाम भूपेन्द्रजंग राना साम्पाङ राई हो । १९९९ सालमा ब्रिटिश सेनामा भर्ति भएर युके आएका साम्पाङ सेवा निवृत्त पश्चात श्रीमती र एक मात्र सन्तान छोरा सहित जिलिंघाम टाउनमा बस्दै आएका छन् ।
उनी खोटाङ सेवा समाज युकेको उपाध्यक्ष, रावाखोला सेरोफेरो युके, किरात राई यायोख्खा युके प्राकास मेडवे, किरात साम्पाङ् जुम्लेखा युके लगायत आधा दर्जन बढी संघसंस्थामा आबद्ध छन् ।
धेरै पटक आर्थिक सहयोग संकलन गरेर आर्थिक विपन्नताका कारण उपचार रोकिएका बिरामीको सफल उपचारदेखि, बाढीपहिरो प्राकृतिक बिपत्ति अनि कोरोना कालमा समेत आर्थिक संकलन गरेर नेपालका बिभिन्न ठाउँमा खाना र नानाको समेत सहयोग गरेका छन् ।
खोटाङ समाज युकेले खोटाङमा ७ वटा एम्बुलेन्स प्रदान गर्दा चालक दललाई तालिम दिन समेत आफ्नो समय र खर्चमा युकेदेखि नेपाल गएर सहयोग गरेका थिए ।