लन्डन । धम्पुस पोखरी घोताने परिवार यूकेले दुई वर्षपछि आफ्नो वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा गत शनिबार १ अक्टोबर २०२२ मा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गोलमान गुरुङले गरेका थिए । कार्यक्रममा सबै बेलायतवासी धम्पुस पोखरी घोताने परिवार यूकेको दाजुभाइ तथा चेलीबेटीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई समाजका संरक्षक एवं जेष्ठ नागरिक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ र समाजका अध्यक्ष गोलमान गुरुङले द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसपछि मातृभूमि नेपालको राष्ट्रिय धुन बजाइएको थियो । कोरोना महामारीको कारण दुई वर्ष भेटघाट स्थगित भए पनि उक्त कार्यक्रमलाई थप रोचक र मनोरन्जात्मक बनाउन माइती र चेलीहरुबाट सुन्दर गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।
समाजका महासचिव हरिमाया गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष भगवान गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि औपचारिक कार्यक्रमको सुरुमै एउटा सुन्दर सारंगीको धुन प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध परे ।
कार्यक्रममा हालै विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हाँसिल गरेका किशोरकिशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विभिन्न विश्वविद्यालयबाट स्नातक गर्नेहरु क्रमशः जस्मिन गुरुङ, मिन्सा गुरुङ, रजत गुरुङ, सलिना गुरुङ, डा. बबिता गुरुङ, सहारा गुरुङ, अर्जु गुरुङ, अमुन गुरुङ र निशा गुरुङ थिए ।
साथै नेपालबाट बेलायत भ्रमणमा रहेका ताईबहादुर गुरुङ र बुद्धिमाया गुरुङलाई स्वागत सम्मान, निवर्तमान अध्यक्ष गमबहादुर गुरुङलाई बिदाई र कुमार गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । कार्यक्रम पूर्ण सफलताको लागि प्रायोजन गरेका गंगाकुमारी गुरुङ, रामबहादुर गुरुङ र अमृतमान गुरुङलाई पनि खादाले सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीहरुको तर्फबाट लिना गुरुङले माइतीहरुको लागि मन्तव्य राखिन् । चेलीबेटीहरुको तर्फबाट कोसेली प्रायोजन गरेका लिना गुरुङलाई समाजको तर्फबाट खादाले सम्मान गरिएको थियो भने नयाँ कार्यसमितिलाई चेलीबेटीहरुको तर्फबाट फूल र खादाले बधाई तथा शुभकामना दिइएको थियो । त्यसपछि समाजका संरक्षक एवं जेष्ठ नागरिक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको बताउँदै सम्मानित व्यक्तित्वहरुलाई बधाईसहित बडा दसैं साथै शुभ दिपावलीको शुभकामना दिए ।
गुरुङ राष्ट्रिय गीतबाट सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रम हरिमाया गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा समाजकै व्यक्तित्वहरुले उत्कृष्ट गीत र नृत्यहरू प्रस्तुत गरे । आफ्नै छोराछोरीहरुको मनमोहक गीत र नृत्यहरुले दर्शकहरुको मन जितेको थियो । निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रमपश्चात् प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमलाई दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरु रहेको "राफल ड्र"ले पनि कार्यक्रमलाई रौनकता थप्यो । उक्त भाग्यशाली चिट्ठा कुमार गुरुङले सञ्चालन गरेका थिए भने भाग्यशाली विजेताहरुलाई समाजका जेष्ठ नागरिकहरुले पुरस्कार वितरण गरे ।
कार्यक्रममा खाना व्यवस्थापन साथै पेय पदार्थमा एम्पायर हल रेष्टुरेन्ट, साउण्ड सिस्टम व्यवस्थापनमा कमल गुरुङ, फोटोग्राफीमा रजत गुरुङ र भिडियोग्राफीमा नयन्द्र राईले विशेष भूमिका खेलेका थिए ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङको छोटो मन्तब्यमा समाजले गर्दै आइरहेको वार्षिक भेटघाट कार्यक्रमको मुख्य उद्देश्य सरल भाषामा आफ्नो भावी सन्ततीलाई आफन्त चिनाउने, दु:ख सुखमा साथ दिने, परिवारभित्र खुसीका क्षणहरु बाँड्ने र गर्दै आइरहेको वार्षिक भेटघाटलाई निरन्तरता दिनु पर्नेमा एकदमै जोड दिए ।
वार्षिक भेटघाट कार्यक्रमलाई अविस्मरणीय हुने गरी विभिन्न स्थानबाट सुनमा सुगन्ध थपी आफ्नो सुन्दर अनि रमाइलो नृत्य, सुमधुर स्वर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन गराइदिएकोमा समाजको तर्फबाट सबैलाई धन्यवाद दिए । साथै सम्मानित ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवादसहित बडा दसैं साथै शुभ दिपावलीको शुभकामना दिए ।