लन्डन । बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमले दोस्रो वार्षिकोत्सव मनाएको छ । अल्डरसटको द प्यालेस हलमा आइतबार एक कार्यक्रम आयोजना गरी मिडियाको वार्षिकोत्सव मनाइएको हो । स्थापनाका दुई वर्ष पूरा गरी तेस्रो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा गोर्खा मिडियाले समाजसेवी, स्रष्टा र कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बेलायतमा 'माइला-कान्छा सहयोग अभियान’ सञ्चालन गरी नेपालमा थुप्रै सामाजिक कार्य गरेका पार्वती गुरुङ (माइला) र माया गुरुङ (कान्छा) सम्मानित भएका छन् । कोरोना भाइरस महामारी उत्कर्षमा रहेका बेला नेपालका विभिन्न क्षेत्रमा पुगेर राहत बाँडेका उनीहरुलाई गोर्खा मिडियाले वर्षका समाजसेवीको रुपमा सम्मान गरेको हो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङ र कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्यालले समाजसेवीद्वयलाई दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए । त्यस्तै, गोर्खा मिडियाले नेपालस्थित तीन स्रष्टालाई १० हजार रुपैयाँसहितको सम्मान प्रदान गरेको छ । लोकगायक कृष्ण थापामगर (तनहुँ), गायिका अञ्जु लामा थोकर (सिन्धुली) लाई सम्मान दिइएको छ भने कलाकार दिनेशकुमार तामाङ (नुवाकोट) लाई १० हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कार अक्टोबरमा हस्तान्तरण गरिने गोर्खा मिडियाले जनाएको छ ।
कार्यक्रममा गोर्खा मिडियाले सेवाको कदर गर्दै सहसम्पादक प्रकाश गुरुङ (यूके), भिडियो सम्पादक सागर तामाङ (काभ्रेपलाञ्चोक) र लेखिका जानु काम्बाङ लिम्बु (यूके) लाई सम्मान गरेको हो ।
त्यस्तै, सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङ, गायिका तारा श्रीषसहित सहयोगी तथा विज्ञापनदाताहरुलाई पनि प्रशंसापत्र वितरण गरिएको थियो ।
सोही अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा गीतकार मिलन तमुको रोधीघरको आँगन भाग ३ म्युजिक भिडियो निर्माणका लागि प्रायोजन गर्ने न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर लक्ष्मी राई, पीपल मोर्गेजका डाइरेक्टर सूर्यप्रकाश गुरुङ, तमुधिं यूके, तमु प्य ल्हु संघ, संस्कृतिका जानकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा क्या रि नारायनबहदुर गुरुङ एमभीओ र श्रीमती चन्द्रदेवी गुरुङलाई पनि प्रशंसापत्र वितरण गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष ध्रुवराज अर्यालले कोभिड महामारीबीचमा सुरु भएको गोर्खा मिडिया स्थापनाका दुई वर्षमै बेलायतको स्थापित हुनु उपलब्धिपूर्ण रहेको बताए । उनले यो मिडिया नेपाली समुदाय बेलायतको प्रमुख मिडिया बनेको समेत उल्लेख गरे । प्रवासमा मिडिया सञ्चालन चुनौतीपूर्ण हुँदाहुँदै पनि दृढ अठोट र लगावसहित अघि बढेको गोर्खा मिडियालाई आगामी दिनमा थप सफलता मिल्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमका सभापति एवम् गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले यो स्थानसम्म आइपुग्न सहयोग गर्ने टीमका सदस्य, सल्लाहकार, विज्ञापनदाता एवम् बेलायतको नेपाली समुदायप्रति आभार प्रकट गरे । गोर्खा मिडियाले पत्रकारितासँगै समाजसेवालाई पनि अघि बढाउँदै जाने अठोट उनले व्यक्त गरे । त्यस्तै वार्षिकोत्सव कार्यक्रममा सहयोग गर्न खटिएका कार्यक्रम संचालक बिमल गुरुङ, संगीना गुरुङलाई धेरै धन्यवाद दिएका थिए ।
त्यसअवसरमा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले मिडिया स्थापनाको पृष्ठभूमिसहित अहिलेसम्मको यात्रामा गरिएका विभिन्न सामाजिक कार्य र गतिविधिबारे जानकारी गराएका थिए । सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले बेलायतको नेपाली समुदायमा कदरयोग्य योगदान पुर्याएको उल्लेख गरे ।
प्रकाश गुरुङ र विमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूके पूर्वअध्यक्ष सूर्य गुरुङ, नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूके अध्यक्ष गोमा राना, तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङ, सहारा यूके पूर्वअध्यक्षद्वय मीनबहादुर गुरुङ र कुमार गुरुङ, बीजीडब्लूएसका अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान जेपी, जीआरएनसीका अध्यक्ष मान गुरुङ, बेक्सली नेपाली समाजका पूर्वअध्यक्ष विजय गुरुङ, तमु प्ये ल्हु संघका वरिष्ठ सल्लाहकार क्या तेजबहादर गुरुङ, व्यवसायीहरु आइएमई लन्डनका डाइरेक्टर कमल पौडेल, पीपल मोर्गेजका डाइरेक्टर सूर्यप्रकाश गुरुङ, न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर लक्ष्मी राई सहभागी थिए ।
पत्रकारहरु नवीन पोखरेल, बाचस्पति रेग्मीसहित विभिन्न संस्था र समुदायका अगुवाहरुको उपस्थिति थियो ।