लन्डन । नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले गोर्खा मिडिया डटकम बेलायतमा नेपाली समुदायको प्रमुख मिडिया बनेको बताएका छन् ।
गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सव समारोहमा आइतबार सम्बोधन गर्दै अध्यक्ष अर्यालले कोरोना महामारीको समयमा स्थापना भएको गोर्खा मिडिया छोटो अवधिमै नेपाली समुदायको विश्वसनीय र प्रमुख बन्न सकेको औंल्याए । उनले बेलायतमा अन्य मिडियाले समेट्न नसकेको विभिन्न सहरमा रहेका नेपालीहरुको गतिविधि समेट्न सफल भएको बताए । अध्यक्ष अर्यालले अझै गोर्खा गोर्खा मिडियाको उन्नति र प्रगतिको शुभकामना दिए ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा कार्यक्रम अल्डरसटमा भएको कार्यक्रममा अध्यक्ष अर्यालले कोभिड महामारीबीचमा सुरु भएको गोर्खा मिडिया स्थापनाका दुई वर्षमै बेलायतको स्थापित हुनु उपलब्धिपूर्ण रहेको बताए । उनले यो मिडिया नेपाली समुदाय बेलायतको प्रमुख मिडिया बनेको समेत उल्लेख गरे । प्रवासमा मिडिया सञ्चालन चुनौतीपूर्ण हुँदाहुँदै पनि दृढ अठोट र लगावसहित अघि बढेको गोर्खा मिडियालाई आगामी दिनमा थप सफलता मिल्ने विश्वास उनले व्यक्त गरे ।
सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले बेलायतको नेपाली समुदायमा कदरयोग्य योगदान पुर्याएको उल्लेख गरे ।
कार्यक्रमका सभापति एवम् गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले यो स्थानसम्म आइपुग्न सहयोग गर्ने टीमका सदस्य, सल्लाहकार, विज्ञापनदाता एवम् बेलायतको नेपाली समुदायप्रति आभार प्रकट गरे । गोर्खा मिडियाले पत्रकारितासँगै समाजसेवालाई पनि अघि बढाउँदै जाने अठोट उनले व्यक्त गरे । त्यस्तै वार्षिकोत्सव कार्यक्रममा सहयोग गर्न खटिएका कार्यक्रम संचालक बिमल गुरुङ, संगीना गुरुङलाई धेरै धन्यवाद दिएका थिए ।
त्यसअवसरमा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले मिडिया स्थापनाको पृष्ठभूमिसहित अहिलेसम्मको यात्रामा गरिएका विभिन्न सामाजिक कार्य र गतिविधिबारे जानकारी गराएका थिए ।