विकास विकास भन्दै भुलिरहेका
ओ काठमाडौँवासी !
भुलेका छैनौ होला एउटा किंबदन्ती–
कि प्राचीनकालमा मञ्जुश्रीले
फोरेर चोभारको डाँडो
बगाएर एक विशाल तालको पानी
बसालिदिएका थिए तिम्रो बस्ती ।
पोहरसम्म
त्यो चोभारको गल्छीबाट
बग्दै थियो वाग्मती
बोकेर पानीको निर्मल आयतन
उडाउँदै हावामा फूलको बासनाजस्तै H2O का मोलक्युलहरु ।
अहिले त
बग्दोरहेछ अल्छी मान्दैमान्दै ढलमती
बोकेर गन्हाउने पिपैपिपको मयलपानी
उत्सर्जन गराउँदै अमोनिया र मिथेनका दुर्गन्धहरु
अनि धमिलो पार्दै पवित्र गङ्गालाई
पुग्दोरहेछ सागरसम्म- खनाउन प्रदूषणको भारी ।
होसियार ओ काठमाडौँवासी !
तिनै बौद्धभिक्षु मञ्जुश्री
त्यो गल्छीलाई थुन्ने योजना लिएर
आएका छन् आज चोभार फेरि–
ताकि ती तिम्रा कुकर्मका ढल
फर्केर जाउन तिम्रै
घर, दोकान, मन्दिर, उद्योग, रेष्टुरेन्ट, होटेल र दरबारका आँगनतिर ।
जसै
चोभारको गल्छी थुनिने छ
डुब्ने छ तिम्रो विकासको अगतिला संरचनाहरु
डुब्ने छ तिम्रो अस्तित्व पनि ।
जब तिमी विलुप्त हुने छौ यो उपत्यकाबाट
हराउने छन् तिमीले ओकल्ने विषका स्रोतहरु
अनि
पुनर्स्थापित हुने छ यहाँको असन्तुलित पारिस्थितिकी ।
जब
सन्तुलनमा आउन सुरु गर्नेछ यहॅाको पारिस्थितिक प्रणाली तबमात्र
फर्केर आउने छन् मञ्जुश्री चोभार फेरि
र, खोलिदिने छन् त्यो गल्छेडोको ढोका ।
त्यतिबेला बल्ल
बग्ने छ पुनः वाग्मतीमा पानीजस्तै पवित्र पानी ।
त्यसैले
होसियार ओ काठमाडौँवासी !
गल्छी थुन्ने योजना लिएर
मञ्जुश्री आज फेरि चोभार आएका छन्