लन्डन । तमु समाज यूकेको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत २४ जुन शनिबार तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा साधारणसभा भएको हो ।
अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा बसेको वार्षिक साधारणसभा अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष उमादेवी गुरुङले संयुक्त रुपमा पानासमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । दीप प्रज्वलनपछि नेपाल र बेलायत दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो ।
साधारणसभाको आरम्भमा समाजका दिवंगत सदस्यहरुको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो । महासचिव धरमबल गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै सञ्चालन गरेको वार्षिक साधारणसभामा उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र पूर्वअध्यक्ष शिवशरण गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
मन्तव्यका क्रममा दुबै वक्ताले तमु समाज यूकेले विगतदेखि वर्तमानसम्म गरेका विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुको प्रशंसा गर्दै समाजका सबै पदाधिकारीहरुलाई धन्यवाद पनि दिएका थिए ।
साधारणसभामा महासचिवले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेपछि क्रमशः आमा समूह अध्यक्षले आमा समूहको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खेमबहादुर गुरुङ र अध्यक्ष शिवकुमार गुरुङले संयुक्तरुपमा सामाजिक भवन परियोजना र संस्थाको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा प्रस्तुत गरेका सबै प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको थियो । सभामा समाजको विधान पुनर्लेखन र आगामी वर्षको योजना एवं कार्यक्रमबारे बुँदागत रुपमा छलफल गरी महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको साधारणसभामा सदस्यहरुको बोल्ने समयमा सबैले समाजको सर्वोपरि हित, उन्नति र भावी कर्यक्रमका निम्ति सकारात्मक सुझाव दिँदै हालसम्म भइरहेका कार्यहरुमा खुशी प्रकट गरे ।
सभामा गएको आर्थिक वर्षमा समाजमा सम्पन्न भएका र गरेका विभिन्न उल्लेखनीय तथा महत्वपूर्ण कार्यहरुको प्रशंसा गर्दै त्यससँग सम्बन्धित विभिन्न विशेष व्यक्तित्वहरु उपर धन्यवाद प्रस्ताव पनि परित गरिएको थियो । साधारणसभामा सदस्यहरुले बोल्ने क्रममा उठेका र प्रस्ताव गरेका विभिन्न विषयमा पनि आवश्यक छलफल गरि निर्णयहरु भए ।
अन्तमा अध्यक्ष शिवकुमार गरुङले यस वर्ष नेपाल भ्रमणमा रहँदा समाजको तर्फबाट गरेका कार्यहरुको संक्षिप्त चर्चा, विगत एक वर्षमा समाजले गरेका उल्लेखनीय कार्य र उपलब्धिहरुको चर्चा गरे । उनले भावी कार्यक्रमबारे पनि संक्षेपमा प्रकाश पार्दै समाजप्रति सबैले गरेको सहयोग र योगदानका निम्ति आभार प्रकट गरे ।
साधारणसभा समापनपछि तमु समाज यूकेका पूर्वसांस्कृतिक सचिव सरु गुरुङ रानाको संयोजन तथा निर्देशनमा तमु पहिरनमा सजिएर सभामा उपस्थित सबै सदस्यहरु, आमा, दिदीबहिनी दाज्युभाइहरु तमु समाज यूके स्वागत गीतको भिडियो छायांकनमा सहभागी भएका थिए ।