लन्डन । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आएकी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई लन्डनको वेम्बलीस्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा सोमबार १ मे २०२३ को दिन भव्य स्वागत तथा सम्मान गरेको छ ।
तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गरुङको सभापतित्वमा महासचिव धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर मन्जुदेवी गुरुङलाई संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ गुरुङले खादा, पुष्पगुच्छा, दोसल्ला र तमु समाज युके विशिष्ट समाजसेवा सम्मानपत्र प्रदान गरी स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर मन्जुदेवी गुरुङले आभारसहित धन्यवाद व्यक्त गर्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङलाई मायाको चिनो प्रदान गरेकी थिइन् । उपमेयर गुरुङको स्वागत तथा सम्मानमा आमा समूहले तयार पारेको केक पनि काटेका थिए । कार्यक्रममा तमु समाज युकेका पूर्वअध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए भने निरज गुरुङले प्रमुख अतिथि गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा हेल्थ र सेफ्टीसम्बन्धी कार्यक्रम संचालक तथा महासचिव धरमबल गुरुङले जानकारी दिएका थिए ।
औपचारिक कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित तमु समाज यकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, पूर्वउपाध्यक्ष बिजु गरुङ, पूर्वउपाध्यक्ष कन्यप्रसाद गुरुङ, सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, सल्लाहकार लेखबहादुर गुरुङ आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, कार्यसमितिका विभिन्न पदाधिकारीहरु, आमा समूह, आजीवन सदस्यहरु र उपस्थित सबैले उपमेयर गुरुङलाई खादा फूलमाला र फूल लगाई स्वागत तथा सम्मान गरेका थिए । बेलायतको राजधानी लन्डनमा तमु समाज युकेले आयोजना गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित भई सम्मानित हुँदा प्रमुख अतिथि उपमेयर मन्जुदेवी गरुङले अत्यन्त खुसी ब्यक्त गर्दै तमु समाज युकेका संस्थापक अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सबै पदाधिकारी तथा आमा दिदीबहिनीहरुलाई आभारसहित कृतज्ञता व्यक्त गरेकी थिइन् । मन्तब्त राख्ने क्रममा प्रमुख अतिथि उपमेयर गुरुङले परोपकारको क्षेत्रमा तमु समाज युकेले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएकी थिइन् । उनले नेपालको वर्तमान संविधानमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्थाबारे उल्लेख गरेकी थिइन् । यसैगरी नारी सशक्तीकरण र महिला नेतृत्वको बारेमा प्रकाश पार्दै पोखरा महानगरपालिकाको विविध समसामयिक जनचासोकाविबिषयहरुको बारेमा सबैलाई जानकारी गराएकी थिइन् । आफ्नो नेपाली तथा तमु भाषा, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा निरन्तर लागिरहन पनि उपमेयर गुरुङले सबैलाई आग्रह गरेकी थिइन् । अत्यन्तै सौहार्द तथा पारिवारिक वातावरणमा सम्पन्न औपचारिक कार्यक्रमको समापनपछि फोटो सेसन र त्यसपछि प्रमुख अतिथि, अन्य अतिथिगणलगायत उपस्थित सबै महानुभवहरु आमा समूहले तयार पारेको स्वादिष्ट खानपानमा सरिक भएका थिए । बिहान १०:३० बजे आरम्भ भएको स्वागत तथा सम्मान कार्यक्रम दिउँसो २:३० बजे अन्त भएको थियो ।