वेम्बली, लन्डन । तमु समाज यूकेको आयोजनामा २५६७औं बुद्ध जयन्ती तथा दोमाङ पूजा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा शनिबार २९ अप्रिल २०२३ का दिन भव्यताका साथ सम्पन्न भएको हो । आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पूजा कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख गुरु बीसीसी यूकेका प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछे रहेका थिए । पूजा संचालनमा अन्य लामा गुरुहरुमा लामा दावा नोर्बु, लामा स्यानु र लामा मिङमार संलग्न रहेका थिए ।
प्रमुख अतिथि तथा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछे तथा अन्य लामा गुरुहरुलाई कार्यक्रमस्थलमा भव्य स्वागत गरेपश्चात् तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष शिवशरण गुरुङ र आमा समूहका उपाध्यक्ष मथुरादेवी गुरुङले संयुक्तरुपमा दिप प्रज्वलन गरी शुभारम्भ गरिएको बुद्ध जयन्ती तथा दोमाङ पूजा कार्यक्रममा सल्लाहकार तथा काउन्सिलर कमल गुरुङलगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ र अन्य पदाधिकारी तथा आमा दिदीबहिनीहरुलगायत लन्डन वरपरका नेपाली जेष्ठ नागरिकहरु र श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।
२००७ सालमा स्थापना भई २०१२ मा बेलायतको च्यारिटी कमिसनमा औपचारिकरुपमा दर्ता भएको संस्था तमु समाज यूकेले स्थापनाकालदेखि निरन्तररुपमा वैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती पूजा संचालन गर्दै आएको छ । विगतका वर्षहरुझै यस वर्षको २५६७औं बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सक्रियतामा नि:शुल्क प्रवेश र खानापिनको व्यवस्थापन तथा केटरिङ पनि आमाहरु आफैले गरेका थिए । यसका निम्ति समूहका सबै आमा दिदीबहिनीहरु जुटेका थिए ।
विगतमा जस्तै यस पटकको बुद्ध जयन्ती पूजा कार्यक्रम आयोजनाका निम्ति थुप्रै दानविर महानुभावहरुले स्वतस्फूर्त आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवश्यक पूजा सामग्रीहरु प्रायोजन तथा सहयोग उपलब्ध गराएका थिए । बिहान ८:३० बजे आरम्भ गरिएको बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रममा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछेले दोमाङ पूजापाठको बारेमा उपस्थित सबैलाई संक्षिप्त जनकारी गराएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनहरुले प्रमुख अतिथि तथा प्रमुख गुरु रिम्पोछेबाट अभिषेक तथा अन्य लामा गुरुहरुबाट प्रसाद ग्रहण गरेपछि अपराह्न ५ बजे कार्यक्रम समापन गरिएको थियो ।
तमु समाज यूकेका महासचिव धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा अध्यक्ष शिवकुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै पूजा संचालन गर्ने लामा गुरुहरु, कार्यक्रमलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरु, विभिन्न परिकारका भोजन तथा पेय पदार्थको प्रायोजन गर्ने प्रायोजकहरु, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवार र उपस्थित सबैलाई आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका थिए ।
कार्यक्रममा महासचिव धरमबल गुरुङले नै हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए भने महासचिवले नै कार्यक्रमलाई विभिन्न प्रकारका सहयोग तथा दान गर्ने दाताहरुको नामावली धन्यवाद ज्ञापनसहित पढेर सुनाएका थिए । शान्ति, मोक्ष प्राप्ति र भगवान बुद्धको श्रद्धा र भक्ति भावका निम्ति आयोजना गरिएको उक्त बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रम मध्याह्नमा एक कलाकार सम्मान कार्यक्रम पनि संलग्न गरिएको थियो । कार्यक्रममा बेलायत भ्रमणमा रहेका चलचित्र निर्माता, निर्देशक एवं नायक प्रितम गुरुङलाई सम्मान गरेका थिए ।
तमु समाज यूकेले प्रथम गुरुङ (तमु) चलचित्र 'पातें'को नायकको रुपमा कला क्षेत्रमा प्रवेश गरेका प्रितम गुरुङलाई विशेष गरेर गुरुङ (तमु) कला क्षेत्रमा र समग्र नेपाली कला क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा तथा कदर गर्दै २५६७औं बुद्ध जयन्ती कार्यक्रमको पावन अवसरमा तमु समाज यूके विशिष्ठ समाजसेवा सम्मान पत्र प्रदान गरिएको हो । नायक गुरुङलाई समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङले फेटा खादा लगाई पुष्पागुच्छासहित सम्मानपत्र प्रदान गरेका थिए । यसै अवसरमा प्रथम गुरुङ (तमु) चलचित्र 'पातें'को नायिका तथा तमु समाज यूकेका पूर्व सांस्कृतिक सचिव सरु गुरुङ रानालाई पनि पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए ।
सम्मानित भएपछि चलचित्रकर्मी तथा नायक गुरुङले बेलायतमा यति ठूलो सम्मान गरेकोमा तमु समाज यूकेप्रति आभार प्रकाट गर्दै धन्यवाद व्यक्त गरेका थिए । कलाकारिताको माध्यमबाट जीवनको महत्वपूर्ण समय आफ्नो समुदायलाई दिन पाएकोमा खुसी व्यक्त गर्दै नायक गुरुङले जीवनको अनन्तकालसम्म यही क्षेत्रमै रहिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
चलचित्र क्षेत्रमा ३ दशक जति निर्माता निर्देशक र नायकको रुपमा लागि परेका प्रितम गुरुङ अहिले आफ्नो ४९औं फिल्म 'रिपा' प्रदर्शनका क्रममा बेलायत आएका हुन् ।