लन्डन । ब्रेज मेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको दोस्रो चलचित्र “शिरसुबा”लाई ११ सेप्टेम्बर २०२२ मा भएको योर्कसायरको प्रदर्शनमा भूपू लाहुरेले पत्र पठाएका छन् ।
स्वीन्डन, अल्डरसटपछिको बेलायतमा तेस्रो प्रदर्शन योर्कमा फिल्म हेरीसकेपछि योर्क निवासी समाजसेवी तथा सफल व्यवसायी दुर्गा गुरुङले सम्पूर्ण “शिरसुबा” युनिटलाई बधाई तथा शुभकामनापत्र लेखेका थिए । चिट्ठीभित्र शुभकामनासहित £५० नगत पनि राखेका थिए ।
१० वर्षयता योर्कमा योर्कवासीलाई नेपाली खाना खुलाउँदै आएको, बेलायतमा धेरैजसो कार्यक्रमहरुलाई साथ अनि सहयोग गर्दै आएको याक एन्ड यती रेस्टुरन्टले आयोजना गरेको उक्त चलचित्र प्रदर्शनमा करिब ६० जनाको उपस्थिति थियो । योर्कको सानो समाजमा भएको सदस्य सबै जना आफ्नो निम्तो स्वीकार गरी उपस्थित भएकोमा आयोजक बम गुरुङले खुसी व्यक्त गरे ।
फिल्म हेर्न आएका सबै दर्शकलाई खानाका साथ सेलरोटीको पनि व्यवस्था गरिएको थियो । आफ्नो गाउँ ठाउँको प्रवर्द्धन गर्न अगाडि सारेका युवाहरुलाई सधैंसाथ दिनु पर्छ भनि चलचित्र योर्कमा प्रदर्शन गर्ने जिम्मा आफूहरुले लिएको अर्का याक एन्ड यती गोर्खा रेस्टुरेन्टका सन्चालक किसान गुरुङले बताए ।
चलचित्र प्रदर्शनमा योर्क नेपाली कम्युनिटीका अध्यक्ष गोपाल पुन, सुनगाभा इन्टरटेन्मेन्टका अध्यक्ष रि.मेजर सुरेन्द्र गुरुङ, सफल व्यवसायी दुर्गा गुरुङ, एनआरएन यूकेका प्रवक्ता भरतमनि चोम्बाङलगायतका ब्यक्तिहरु थिए । चलचित्र प्रदर्शनपछि सबै दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका थिए ।
याक एन्ड यतीका सन्चालक निर्मला गुरुङ र दीपा गुरुङले काउन्टरमा टिकटबाट आएको पुरै पैसा £६४५ चलचित्र युनिटलाई दिए भने चलचित्र हेरी खुसी भइ चलचित्रबाट आएको मुनाफा घान्द्रुकको स्कुलको स्तरोन्नतीका लागि भएकोले थप रेस्टुरन्टको तर्फबाट £४०० थपी जम्मा £१०४५ चलचित्र युनिटलाई दिएको पनि आयोजकले जनाएको छ ।
अन्तमा चलचित्र निर्माता बिमल गुरुङले योर्कमा 'शिरसुबा' लाई गरेको स्वागतका लागि धन्यवाद दिए । आइतबार बन्द रहने रेस्टुरन्ट खोलेर सबैको खानाको ब्यवस्था गर्ने रेस्टुरेन्ट परिवारलाई पनि धन्यवाद दिए । गुरुङ, मगर, राई, लिम्बुलगायतका जातजातिको बसोबास रहेको योर्कमा सबैजना आएर चलचित्र हेरिदिएको र सबैले खुलेर प्रशंसा गरेकोमा निर्माता गुरुङले धन्यवाद दिएका हुन् ।