लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।
मञ्चको शनिबार २२ अप्रिल २०२३ मा तमुधिं भवन मिचेटमा सम्पन्न चौथो महाधिवेशनबाट पदम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमिति उपाध्यक्षमा कृष्णा गुरुङ, महासचिव दिनेश गुरुङ, कोषाध्यक्ष हेलिसा गुरुङ चयन भएका छन् । सचिव र सहकोषाध्यक्ष पछि थपिने मञ्चले जनाएको छ ।
यस्तै सदस्यहरुमा यामु गुरुङ, सूर्य गुरुङ, श्री गुरुङ, अविसा गुरुङ, एलिना गुरुङ, निता गुरुङ र पूर्ण घोताने गुरुङ चयन भएका छन् । विधानत: १३ सदस्यीय कार्यसमिति हुने भएकोले २ सदस्य पछि थपिने जनाइएको छ ।
प्रमुख सल्लाहकार एकेन्द्र गुरूङको नेतृत्वमा संस्थापक अध्यक्ष सूर्य गुरूङ र सल्लाहकार सुर्जे रामचन्द्र गुरूङ सदस्य रहेको निर्वाचन समितीले तेस्रो कार्यसमितिका उपाध्यक्ष पदम गुरूङको अध्यक्षतामा १३ सदस्यीय चौथो कार्यसमितिको चयन गराएर शपथ ग्रहण र पदीय प्रमाणपत्र दिएको थियो । अध्यक्ष पदम गुरूङबाट धन्यवादसहित आफ्ना प्रतिबद्धताहरू दिएका थिए भने निवर्तमान अध्यक्ष कुमार गुरूङबाट निर्वाचन समितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई अझ बढी साथ र सहयोग गर्ने वचन दिए ।
महाधिवेशनको प्रारम्भमा भने गत ८ अप्रिल २०२३ मा सम्पन्न तेस्रो रोधी साँझको समीक्षा बैठक बसेको थियो ।कोषाध्यक्ष शशी गुरूङको प्रतिनिधित्व गर्दै कार्यक्रमको आर्थिक प्रतिवेदन अध्यक्ष कुमार गुरूङले प्रस्तुत गरेको थिए । जसलाई सर्वसम्मतिमा पारित गरियो । त्यसपश्चात् संयोजक सूर्य गुरूङले उनले परिकल्पना गरेको कुराहरू पूरा नभएको र धेरै कमीकमजोरीहरू भएको गुनासो पोखाए तापनि सबैबाट कार्यक्रम सोंचेभन्दा राम्रो भएको भन्दै ति कमीकमजोरीहरूलाई आउने रोधी साँझमा सुधार्दै लैजाने सल्लाह दिएका थिए ।
नेपालबाट संयोगवश तेस्रो रोधी साँझमा प्रत्यक्ष उपस्थित भएर कार्यक्रमलाई साथ र सहयोग गरिदिने कलाकारहरू नायक तथा निर्देशक प्रितम गुरूङ, नायिका रजनी गुरूङ, गायक पृथ्वी गुरूङ, गायक सागर गुरूङ र गायिका भाई कुमारी गुरूङ (कोषाध्यक्ष शशी गुरूङकी आमा) लाई संस्थाको तर्फबाट धन्यवाद स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसरी नै रोधी साँझ कार्यक्रमलाई प्रत्यक्ष सहयोग गर्ने लमजुङ समाज यूके, ईलमपोखरी समाज यूके, घान्द्रुक समाज यूके, तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके र तमुधिं यूकेलाई धन्यवादस्वरूप प्रशंसापत्र दिइएको थियो ।
अध्यक्ष कुमार गुरूङबाट रोधी साँझलाई आर्थिक भौतिक र नैतिक रूपले साथ र सहयोग गरिदिने सबै सबैलाई मुरीमुरी धन्यवाद दिँदै समीक्षा बैठक समापन भएको थियो । महाधिवेशनको पहिलो चरण अध्यक्ष कुमार गुरूङको सभापतित्वमा सचिव कृष्ण गुरूङले संस्थाको साधारणसभा संचालन गरेका थिए ।
संस्थापक अध्यक्ष सूर्य गुरूङ, प्रमुख सल्लाहकार एकेन्द्र गुरूङ र अध्यक्ष कुमार गुरूङद्वारा सामूहिक रूपमा दिप प्रज्वल गरेर सुरू भएको महाधिवेशनलाई संस्थाका उपाध्यक्ष पदम गुरूङले स्वागत मन्तव्य दिएका थिए । संस्थापक अध्यक्ष सूर्य गुरूङ, निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरूङ र प्रमुख सल्लाहकार एकेन्द्र गुरूङले महाधिवेशनको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
त्यसरी नै संस्थाको प्रतिवेदन सचिव कृष्ण गुरूङले प्रस्तुत गरेका थिए र उक्त प्रतिवेदनलाई उपस्थित सबैले सर्वसम्मत पारित गरिएको थियो । त्यसपश्चात् संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शसी गुरूङले प्रस्तुत गरिएको थियो । संस्थाको हित र भलाईका लागि उपस्थित अग्रजहरूबाट केही सल्लाह सुझावहरू दिएका थिए ।
अन्तमा अध्यक्षबाट संस्थाको आजीवन सदस्य बनाउने अभियान र युवा पुस्तालाई सहभागी गराउन सबैले प्रयास गरौं भन्ने अनुरोध गर्दै सबैलाई महाधिवेशन सफल बनाइएकोमा धन्यवाद दिएका थिए ।