पोखरा । कास्कीको पोखरा महानगरपालिका-२४ पोखरीचौरमा रहेको बसन्त आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालय प्रांगणमा शनिबार आयोजित एक कार्यक्रमबीच बेलायत, अमेरिका, हङकङ, काठमाडौं, चितवन, पोखरामा रहेका जनप्रिय माध्यमिक विद्यालयका वि.सं २०४९ एसएसली समूहका पूर्वविद्यार्थीहरुको सहयोगबाट १ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । समूहको तर्फबाट ९२ थान झोला, दुई वटा भलिबल र स्टेसनरी सामान (कपी, सिसाकलम, कटर, इरेजर) ९६ थान बाँडिएको थियो ।
समूहका सभापति चन्द्र गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा बसन्त आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर नेपाली, प्रधानाध्यापक भीमप्रसाद सुवेदी, शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीको विशेष उपस्थिति थियो ।
समूहबाट केशवबहादुर थापा, रुद्रप्रसाद पराजुली, गंगा थापा कोइराला, मनोज अधिकारी, सरस्वती गुरुङ, गोविन्द मुल्मी, मित्रलाल बराल, बाबुराम बिक, अनिल कार्की, निरञ्जन बजिमय, सबिता श्रेष्ठ सहभागी थिए । समूहको तर्फबाट कार्यसमिति सदस्य अनिल कार्कीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेपाली र प्रधानाध्यापक नेपालीले मन्तव्य राख्दै पूर्वविद्यार्थीहरुको सहयोगले विद्यार्थीको पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै समूहका विद्यार्थी सबैलाई धन्यवाद दिए । उनीहरुले निरन्तर सहयोगको अपेक्षासमेत राखेका थिए ।
उपाध्यक्ष केशवबहादुर थापाले सञ्चालन गरेको कार्यक्रम समापनका क्रममा सभापति गिरीले बसन्त आविका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै उनीहरु शैक्षिक उन्नतिको लागि शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा पनि समूहका साथीहरुको मद्दत मिलेर यस्तै सहयोग कार्यक्रम गर्ने अवसर पाउने आश व्यक्त गरेका थिए ।