पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ को ल्वाङगाउँमा चैते दशैं मेला सुरु भएको छ ।
स्थानीय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दशैं मेला सुरु भएको हो । मेला बुधबार एक समारोहकाबीच प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, विशेष अतिथि माछापुच्छ्रे गाउँपालिका ८ का अध्यक्ष रामबहादुर गुरुङलगायतले उद्घाटन गरेका हुन् ।
क्लबका सभापति सुजन गुरुङको सभापतित्वमा आयोजिक कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि र गाउँले आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुको उपस्थिति थियो । कार्यक्रममा मर्दीखोला समाज यूकेका सदस्यहरु, मर्दिखोला समाज हङकङका सदस्यहरु, स्थानीय व्यवसायी तथा गाउँले, गाउँका चेलिबेटी साथै अन्य व्यक्तिहरुको मेला व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको आयोजक क्लबले जनाएको छ ।
मेलामा खुला अन्तर गाउँस्तरीय पुरुष भलिबल, खुला क्लबस्तरीय महिला भलिबल खेलाइनेछ । पुरुष भलिबलमा प्रथमले ७५ हजार, द्धितीयले ५० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै महिला भलिबलतर्फ प्रथमले २५ हजार, द्धितीयले १५ हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, रस्सी तान्ने (पुरुष) र महिला, घैटों फुटाई, छेलो फाल्ने, मेच घुमाई (महिला), बेलुन फुटाई (बालबालिका), खुला सामूहिक नृत्य प्रतियोगिता हुनेछन् । खेल शहीद हरिप्रसाद स्मृति खेलमैदानमा जारी छ ।