पोखरा । ओमानमा नोभेम्बर ५ देखि १४ सम्म आयोजना हुने एसीसी मेन्स यू-१९ एसिया कप २०२६ प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले जितको शुभकामनासहित बिदाइ गरेको छ।
नगरप्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले नेपाली युवा क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।
बिदाइका क्रममा नगरप्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीहरूले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलाडीहरूको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता प्राप्त हुने बताउँदै प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरेका छन्।
ओमानमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाली यू-१९ राष्ट्रिय टोलीले एसियाका विभिन्न राष्ट्रका युवा क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताले नेपाली युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिकाले नेपाली क्रिकेट टोलीको सफलताका लागि शुभकामना व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र विजयको कामना गरेको छ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रवक्ता मोतिलाल तिम्सीना, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश उदास, शिक्षा महाशाखा प्रमुख पदमराज आचार्य, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी र महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारलगायतको उपस्थिति रहेको थियो।