बेलायतको नेपाली समुदायमा परिचित नाम हो, दुत पुन अर्थात् चिम्खोले काइँला । मेरो उहाँसँग चिनजान भएको करिब ११ वर्ष पूरा भएर १२ वर्षमा प्रवेश गरिसकेको छ । सुरुमा मैले उहाँलाई बेलायतबाट प्रकाशन हुने साप्ताहिक पत्रिका ‘एभरेष्ट टाइम्स’ नामक नेपाली पत्रिकाको लगानीकर्ताको रुपमा चिनेको थिएँ । कहिलेकाहीँ उहाँले फट्टफुट्ट कविता कोर्ने, कथा लेख्ने र रिपोर्टिङ गर्ने गर्नुहुन्थ्यो ।
मोफसलमा रहेर पत्रकारिता गर्ने क्रममा म पनि एभरेष्ट टाइम्स युकेसँग जोडिन पुगेँ । उहाँले एभरेष्ट टाइम्सको व्यवस्थापकीय जिम्मेवारी लिएपश्चात् उहाँसँग अलि नजिक भएँ । उहाँले व्यवस्थापकीय जिम्मेवारी लिने समयमा एभरेष्ट टाइम्सको मर्ने कि बाँच्ने अवस्था थियो । उहाँले पत्रिका बन्द हुने हविगत देखेपछि छ महिना चलाउन दिन आग्रह गर्नुभयो । मलाई दुत पुनले पत्रिका चलाउन सक्नुहुन्छ जस्तो विश्वास लागेको थिएन । तर लगभक बन्द भैसकेको पत्रिकालाई उहाँले निरन्तर एघार वर्षसम्म जीवन्तता दिनुभएको थियो । पत्रिका सञ्चालन गर्नेक्रममा हामी दुईबीच कहिले समाचार, कहिले ग्राहक, कहिले विज्ञापनदाता, कहिले पाठक प्रतिक्रियाबारे छलफल हुन्थ्यो । छलफलमा उहाँले अरुको भन्दा अलि फरक विचार राख्नुहुन्थ्यो । बैठकले गरेका निर्णय तत्काल कार्यान्वयन गरिहाल्नुहुन्थ्यो । आफ्ना नियमित काम, मगर संघ युकेको नेतृत्वदायी भूमिका, पारिवारिक तथा सामाजिक दायित्व, पत्रिकाको व्यवस्थापकीय जिम्मेवारीसँगसँगै आफ्ना कविता, कथा लेखन र रिपोर्टिङलाई समेत त्यत्तिकै समय दिँदै आउनुभएको थियो ।
त्यतिबेला पत्रिका सञ्चालनमा थुप्रै व्यवधान र चुनौतीहरु थिए । त्यसैले पनि महङ्खवपूर्ण समय खर्चिनुपर्ने अवस्था थियो । यसबीचमा उहाँले थुप्रै कविता, गीत र कथासङ्ग्रह लेखन तथा प्रकाशन गर्नुभयो । साथसाथै ‘मेजर पेन्सन खाउली‘ नामक नेपाली चलचित्रको कथा लेखन तथा निर्माणसमेत गर्नुभयो । मगर संघ युकेको महासचिव र अध्यक्ष पदमा रहेर सफल नेतृत्व प्रदान गर्नुभयो । एभरेष्ट टाइम्स नामक छापा पत्रिकालाई निरन्तररुपले बेलायतका नेपाली समुदायमाझ पुर्याउन सफल बन्नुभयो ।
मैले यसबीचमा उहाँले आफ्नो साहित्यिक यात्रा, नियमित काम, परिवार, समुदाय, पत्रकारिता र पत्रिका प्रकाशनको जिम्मेवारीलाई उत्तिकै समय दिएको देखेँ । हरेक समयलाई सदुपयोग गरिहाल्ने, गर्नुपर्ने काम र भन्नुपर्ने कुरा तुरुन्त गरिहाल्ने र नजानेको कुरा सिक्न खोजिहाल्ने जस्ता उहाँका राम्रा पक्षलाई नजिकैबाट हेर्ने, बुझ्ने र सिक्ने मौका पाएँ ।
यसबीचमा उहाँका थुप्रै कृतिहरु प्रकाशन भैसकेका छन् । उहाँका कृतिहरुलाई धेरैजसो पाठकहरुले रुचाइदिएका छन् भने कतिपय कृतिहरु आलोचनाको घेराभित्र पनि पर्न गए । उहाँका सिर्जनाहरुमा प्रचुर साहित्यिक मिठास कम पाइए तापनि यर्थाथपन भने बढी नै भेटेको छु । हाम्रो नेपाली समाज, परिवार, परिवेशहरु समेटिएको प्रशस्तै अनुभूत गरेको छु ।
म्याग्दीको चिम्खोलाजस्तो विकट ठाउँमा जन्मेर हुर्कनुभएका चिम्खोले काइँलाको मेहनत, जोस, जाँगर, लगनशीलतालाई देखेर उहाँ सामान्य हो कि असामान्य मानिस हो भन्ने कुरा कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ । कहिलेकाहीँ त उहाँ लाहुरे हो कि पत्रकार, कि कवि पो हो कि या कथाकार ? कि चलचित्रकर्मी या समाजसेवी ? म अलमलमा पर्छु । कहिलेकाहीँ उहाँले एभरेष्ट टाइम्सका ग्राहक, विज्ञापनदाता, सप्लायर्स र कर्मचारीसँग गरेका कुराकानी सुन्दा पक्कै व्यापारी नै हो कि जस्तो पनि लाग्ने गथ्र्यो । कहिलेकाहीँ जे काममा पनि तुरुन्त एक्सन गरिहाल्ने देख्दा लाहुरे नै बढी हो कि जस्तो लाग्छ । गीत, कथा र कवितासङ्ग्रहहरुको लेखन तथा प्रकाशन गरिरहँदा साहित्यकार नै हो कि जस्तो पनि लाग्छ । कहिलेकाहीँ रिपोर्टिङ गर्दा वरिष्ठ पत्रकार नै हो कि जस्तो पनि लाग्थ्यो । त्यतिबेला मगर संघ युकेको नेतृत्वदायी भूमिकासँगसँगै च्यारिटीमुलक कार्यमा आवद्ध भएको देख्दा समाजसेवी नै हो कि जस्तो लाग्थ्यो ।
जे होस्, पछिल्लो समय दुत पुन अर्थात् चिम्खोले काइँलाले आपूmलाई साहित्यकारको रुपमा उभ्याउन सफल हुनुभएको छ । हालसम्म प्रकाशन भएका उहाँका कृतिहरु र यस आत्माकथाले त्यसलाई प्रमाणित गरिसकेका छन् ।
संक्षिप्तमा भन्नुपर्दा यदि इमान्दार, मेहनत, लगनशील र निस्वार्थ भावनाले काम गरेमा जस्तोसुकै परिवार, समुदाय, देश र परिवेशमा जन्मेहुर्के तापनि आफ्नो इच्छा, चाहना र सपना पूरा गर्न सकिँदो रहेछ भन्ने कुरा चिम्खोले काइँला एक उदाहरण बन्न सफल हुनुभएको छ । उहाँको आगामी साहित्यिक यात्राले अझ सफलता चुमोस्, शुभकामना !
(सम्पादक एभेरेष्ट टाईम्स युके)