लन्डन । नेपाली चलचित्रकी चर्चित नायिका रजनी गुरुङ (मंगली) बेलायत आईपुगेकी छिन् ।
६ मार्च २०२३ सोमबारका दिन अल्डरसटको पानस रेष्टेरेष्टमा हुने ‘सोल्टीनीको बोली मिठो’ गीतको म्युजिक भिडियो प्रिमियरका लागि उनी बेलायत आएकी हुन् । उनलाई तमु धिं यूकेका सल्लाहकार दिलरास तमु, अमृत तमु, गुरुङ चलचित्रका नायक विमल तमु, साजन तमुलगायतले लन्डनको हिथ्रो इन्टरनेशनल एयरपोर्टमा खदा र फूलले स्वागत गरेका छन् ।
उनलाई पानस रेष्टुरेष्टमा पनि भब्य स्वागत गरिने कार्यक्रम रहेको छ । चर्चित हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा ‘मंगली’ को भूमिकामा देखिएपछि नायिका रजनी गुरूङको परिचय एकाएक चुलिएको थियो । ‘मेरी बास्सैमा’ उनी बुद्धि तामाङ (हनुमाने) को श्रीमतीको रूपमा प्रस्तुत भएकी थिइन् । स्याङ्जामा जन्मिएकी रजनी सानैबाट नाचगानमा निकै रूचि राख्थिन् ।
उनको प्रतिभा देख्नेहरू पनि कलाकारिता क्षेत्रमै जम्नसक्ने सम्भावना भएको व्यक्ति भन्थे । हुन पनि अहिले उनको परिचय कलाकारिता क्षेत्रबाटै फराकिलो बन्दै गएको छ । परिवारले पनि नाचगानलाई रूचाउने हुँदा उनलाई कलाकारिता क्षेत्रमा आउनको लागि खासै समस्या परेन । एक दशक बढी समयदेखि कलाकारिता क्षेत्रमै भविष्य खोजिरहेकी रजनी हाल पोखरा बसेर यसैलाई निरन्तरता दिँदै आइरहेकी छिन् ।
अहिले उनी स्थापित भइसकेकी छिन् । ‘रजनी’ भन्दा पनि ‘मंगली’ नामबाट बढी परिचित भएको उनको महसुुस छ । उनले अभियान फिल्मस्को ब्यानरमा निर्मित गुरूङ भाषाको चलचित्र धिँ अर्थात् घरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले लगातार प्ह्रेँस्यो (दुलही), भ्रँे (पाहुना), प्रे सोना (सँगै बाँचौँ), ‘सुराग’ , धिं (घर) लगायतका दर्जनभन्दा बढी गुरूङ चलचित्रमा काम गर्ने अवसर पाइन् । उनले ठूलो पर्दामा पनि काम गर्ने अवसर पाइन् । नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’, ‘मट्टीमाला’, ‘साली कस्को भेनाको’ को लगायतको चलचित्रमा काम गरिसकेकी छिन् ।