लन्डन । बेलायतमा किराती संस्कार, संस्कृतिमा आधारित ‘यारी’ चलचित्रको प्रदर्शनमा हाउसफुल भएको छ । किरात राई यायोक्खा बेलायतको आयोजनामा मार्च ४ तारिख शनिबार अल्टरसटस्थित प्रिन्सेस हलमा ‘यारी’ प्रदर्शन गरिएको हो ।
वीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराति संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले संस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताए । चलचित्र हेर्न बेलायतका विभिन्न ठाउँका दर्शक आएको आयोजक संस्था किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए । मौलिकतालाई प्राथमिकता दिइएकाले चलचित्र राम्रो वनेको दर्शकहरुको प्रतिक्रिया छ ।
चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आप्नो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रीतिरिवाजलाई संरक्षण र संवर्द्धन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको छ । चलचित्र यारीका लेखन, छायांकन तथा निर्देशनक बीरबहादुर राई (युवराज) लाई सम्मानसमेत गरिएको छ । भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामीण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई जाइका राई लगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगीत रहेको चलचित्रको पार्श्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । जनक राईको नृत्य निर्देशन रहेको छ ।
चलचित्र यारीको प्रदर्शनका लागि बेलायत आएका बीरबहादुर राई (युवराज)को आफ्नै निर्देशन लेखन र छायांकनमा बनेको फिल्म हेर्न बीरबहादुर राई (युवराज) सहित लन्डन दूतावासबाट तृतीय सचिव गजेन्द्र राई, नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन यूके)का अध्यक्ष कर्मा पहाडी शेर्पा, तमुधिं युकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, किरात राई यायोक्खा यूकेकी सल्लाहकार डा. सुमाया राई, एनआरएन अभियन्ता सुशीला राई तथा सम्पूर्ण किरात राई यायोक्खा यूके परिवारलगायत विभिन्न नेपाली समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।