लन्डन । मगर संघ युकेले ४१ औं मगर स्थापना दिवस तथा मगर संघ युकेको २० औं वर्षगाँठ मनाएको छ । बेलायतको मेडस्टोन सहरस्थित प्रदर्शनी हलमा यही फेब्रुअरी २६ तारिख २०२३ मा भव्यताका साथ मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरुलाई स्वागत गरेपछि मगर संघ युकेका सचिव गोमान सिङ पुनले आपतकालीन परिस्थिति आइपरेमा के गर्ने ? भन्ने बारेमा अवगत गराए ।
कार्यक्रममा नेपाल मगर संघका संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर पुनको तस्बिरमा मगर संघ युकेका अध्यक्ष सीता पुन र प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले माल्यार्पण गर्दै दियो प्रज्वलन गरेका थिए । माल्यार्पण र दियो प्रज्वलन गरेपछि एक मिनेट मौनधारण, नेपाली राष्ट्रिय गीत, बेलायतको राष्ट्रिय गीत, मगर गीत प्रस्तुत गर्दै स्टेजमा अध्यक्ष पुन र राजदूत आचार्यले रिबन काटेर मगर दिवसको उत्घाटन गरेका थिए ।
मगर दिवसमा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले मगर संघ युकेले स्थापनाकालदेखि हालसम्मको गरेको गतिविधिहरुको बारेमा तयार पारिएको गतिविधिपत्र पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए भने सचिव गोमान सिङ पुनले मगर दिवसको बारेमा तयार पारिएको दस्तावेज पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए ।
मगर दिवसमा मगर संघ युकेका शाखा संगठनहरु लन्डन, मिडल्याण्ड, वेल्स, स्वीन्डन, रेडिङ, वेम्ब्ली, युनाइटेड युएचएसबी, प्लम्स्टेड, केन्ट, वेस्ट लन्डनलगायत आबद्ध संस्थाहरु पुन मगर समाज युके, खामभाषी मगर समाज युके, मगर महिला संघ युके, मगर बुद्धिष्ट सोसाइटी युकेले आ-आफ्नो शाखा तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिले आ-आफ्नो शाखा तथा संस्थाको परिचय दिँदै झाँकी, गित र नृत्य प्रस्तुत गरेका थिए । झाँकी, गित र नृत्य कार्यक्रमलाई बी एफ बी एस गोर्खा रेडियोका लोकप्रिय प्रस्तोता रुपा राना र सरुपा थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मगर संघ युकेका सांस्कृतिक सचिब सरु राना (टेन्याङ) र मगर युथ (माइफुरुङ) ले मगर ड्रेस, मगर भाषा संबन्धि फेसन सो प्रस्तुत गरेका थिए। फेसन सो प्रस्तुतगरेपछि बिभिन्न क्षेत्रमा उपलब्धि प्राप्त गरेका बेलायतवासी मगरहरुलाई मगर संघ युकेले सम्मान गरेको थियो । २० औं वर्षगाँठको पुस्तक अनावरण गरिएको थियो । पुस्तकका प्रधान सम्पादक तथा मगर संघ यूकेका पूर्व उपाध्यक्ष बम थापा सूर्यवंशी, प्रमुख संयोजक तथा संस्थाका महिला उपाध्यक्ष निर्मला थापालगायत सम्पादक मण्डललाई सम्मान गरिएको थियो ।
मगर दिवसमा लोकप्रिय कलाकारहरु कल्पना श्रीपाल, मनसुदन थापा, शेखर घर्तिलगायत अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरन्जन दिएका थिए ।
मगर संघ युकेका अध्यक्ष सीता पुनले अध्यक्षता गरेको मगर दिवसका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत आचार्य थिए । मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने संथाका महासचिव गुमान सिङ थापाले संचालन गरेका थिए ।
दूतावासका उपनियोग प्रमुख रोशन खनाल, नेपाल आदिवासी जनजाति महासंघका महासचिव बिमला सेने, अन्तर्राष्ट्रिय मगर संघका महासचिव वीरमान घर्तीमगर, युरोप संयोजक नेत्र मगर, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना र पाहुनाहरुमा बेलायतमा स्थापित विभिन्न जातीय संघ संस्थालगायत हजारौं मगरलगायत नेपालीहरुको उपस्थिति थियो ।