लन्डन । माओत्से गुरुङ निर्देशित गुरुङ संस्कार, संस्कृतिमा आधारित चलचित्र 'शिरसुबा' बेलायतमा भव्य प्रदर्शन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका-१०, घान्द्रुक गाउँमा रहेको श्री मेश्रम बराह विद्यालयमा कक्षा ११ र १२ सञ्चालन सहयोगार्थ शनिबार प्रिन्सेस हल अल्डरसटमा भव्य दर्शकबीच शिरसुबा चलचित्र प्रदर्शन भएको हो । चलचित्र 'शिरसुबा' कथाकार एवं निर्माता बिमल गुरुङले शनिबारको प्रदर्शनमा दर्शकको उपस्थितिले आफू धेरै खुसी भएको प्रतिक्रिया जनाएका छन् । यसअघि शिरसुबा स्वीन्डनमा प्रदर्शन गरिएको थियो ।
'अझै पनि गुरुङ संस्कार, संस्कृति, भाषा,भेषको चलचित्र हेर्ने दर्शकहरु अझै रहेछ भन्ने मलाई लाग्यो,' गोर्खा मिडियासँग संक्षिप्त भनाइ राख्दै निर्माता गुरुङले भने,' उहाँहरुको माया, साथले गर्दा आगामी दिनमा गुरुङ चलचित्र निर्माणमा हौसला मिल्नेछ ।'
दर्शकहरुले चलचित्र निकै राम्रो रहेको भन्दै फेरि हेर्न मन लागेको प्रतिक्रिया पनि जनाएका छन् ।
शिरसुबा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको दोस्रो कोसेली हो । नेपालको अपार सफलतापछि बेलायतका विभिन्न ठाउँमा शिरसुबा प्रदर्शन थालिएको हो । चलचित्रमा विश्वास गुरुङ, सुमन गुरुङ, प्रिती गुरुङ, सुमित गुरुङ, सोम गुरुङ, धनबहादुर गुरुङ, आइतराम गुरुङ, मौसम गुरुङ, कुलबहादुर गुरुङ, रबिता गुरुङ, निच्यु गुरुङ, राजेन्द्र थापा, टीकाराम घलेलगायत कलाकारहरुले अभिनय गरेका छन् । ६० प्रतिशत नेपाली र ४० प्रतिशत गुरुङ भाषा रहेको चलचित्र घान्द्रुकको रमणीय ठाउँहरु र हङकङमा छायांकन भएको छ ।
शिरसुबा यूके प्रदर्शनका लागि पीपल मोर्गेजले प्रायोजन गरेको थियो भने घान्द्रुक समाज यूके, तमुधिं यूके, घोताने समाज यूके र ग्रेटर रस्मुर नेपाली समाजले सहयोग गरेका छन् ।