ललितपुर । मगर संघ यूकेका संरक्षक एवं गीतकार घनबहादुर थापामगरको 'साक्षी' एल्बम विमोचन भएको छ ।
स्याङ्जामा जन्मिएर बेलायतको क्यान्टबरी बस्दै आएका समाजसेवी, गीतकार थापामगरको शुक्रबार बीएफबीएस गोर्खा रेडियो कार्यक्रम स्वर्णिम संगमबाट विमोचन गरिएको हो । एल्बममा एउटा मगर भाषाको सहित ६ वटा गीत समेटिएका छन् ।
'मायालुको आँखै नशालु' (पवन रानामगरको स्वर), 'छोड्दै थिए' (दिप श्रेष्ठको स्वर), 'ओकाली होस् या ओराली होस्' (पवन रानाको स्वर), 'तिमीलाई भेट्न' (शुभ तामाङको स्वर), 'तपतपी' (पवन राना र प्रित आलेको स्वर) र 'जिलौ झोर्ले' (विलन थापामगर र रेश्मा पुन मगर स्वर) रहेका छन् ।
स्रष्टा घनबहादुर थापामगरकी पत्नि कृष्णा थापामगरद्वारा निर्माण गरिएको साक्षी एल्बम विमोचन समारोहमा स्वर्णिम संगमका कार्यक्रम प्रस्तोता तुल्सी बस्नेत, वरिष्ठ गीतकार भावेश भुमरी, गायक पवन रानामगर, गायक तथा संगीतकार विलन थापामगर, मोडल रीना थापामगर सहभागी भएका थिए ।
फागुन १५ गते ४१ औं मगर दिवस तथा मगर संघ यूकेको २० औं स्थापना दिवस पूर्वसन्ध्यामा स्रष्टा घनबहादुर थापामगरको एल्बम सार्वजनिक भएको हो । उनले आफ्नो समुदायको भाषा र संस्कार संस्कृति जगर्ना गर्नुपर्छ भनेर रचना गरेको 'जिलौ झोर्ले' म्युजिक भिडियो शुक्रबार घन थापा म्युजिक युट्युब च्यानलबाट नेपाली समय शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको छ । उक्त गीत साक्षी एल्बममा समेटिएको हो । घन थापा र कृष्णा थापामगरको शब्द रचनामा निर्माण भएको गीतमा विलन थापामगर र रेश्मा पुन मगरले स्वर भरेका छन् । सामूहिक गायनमा रुपी सिञ्जाली मगर, प्रेमा राना मगर, पवन रानामगर, रमेशबाबु थापामगरको रहेको छ भने संगीत संयोजन विलन थापामगरले गरेका छन् ।
विलन थापामगरको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियोग्राफरको भूमिका दिया थापामगरले निभाएका छन् । अभिनयमा रमेशबाबु थापामगर, विजय पुनमगर, दिया थापामगर र सिर्जना मगर रहेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
स्याङ्जा हरिनास-६ क्याक्मीमा जन्मिएका घन थापामगरले यसअघि मायाको संसार, बयान, बस्ती, नबिर्स आधुनिक गीति एल्बम तथा फूलको मुस्कान गीत संग्रह पस्किसकेका छन् ।