लन्डन । बेलायतमा कार्यरत डा. विशाल गुरुङले स्याङ्जा पुतलीबजार नगरपालिकामा सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा ३ हजारभन्दा बढी लाभान्वित भएका छन् ।
भूपू सैनिक आवासीय माविमा यही फेब्रुअरी ९ देखि ११ सम्म चलेको आँखा शिविरमा ३ हजारभन्दा बढीको जाँच गरिएको र उक्त जाँचगरेछि १ सय ५२ जनालाई शल्यक्रियाका लागि छानिएको डा. विशाल गुरुङले जानकारी दिए । उनले शल्यक्रियाका लागि छानिएकाहरुको बिहीबार फेब्रुअरी १६, १७ र १८ (फागुन ४, ५ र ६ गते) स्याङ्जा जिल्ला अस्पतालमा शल्यक्रिया हुन लागेको समेत जनाए ।
पुतलीबजारलाई मोतिबिन्दुरहित नगरपालिका बनाउने अभियानअन्तर्गत १४ वटा वडाका २८ ठाउँमा शिविर राखिएको थियो । शिविरमा ९ सय २ चस्मा र ४ लाख रुपैयाँभन्दा बढीको औषधि वितरण गरेको उनले बताए ।
शिविर सफल पार्न आर्थिक सहयोग गर्ने बेलायतवासी, शिविरलाई विभिन्न तबरले सहयोग गर्ने पुतलीबजार नगरपालिका, रोटरी क्लब अफ हिमालयन पाटन, नेत्रज्योति संघ नेपाल, हिमालयन आँखा अस्पताल, बिएमटीपीबी फाउन्डेशनलगायतलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।
शिविरका लागि डा. गुरुङसहित २ जना बेलायतबाट नेपाल गएका छन् । नेपालका डाक्टर, नर्स गरी अन्य २० जना शिविरमा खटिएका थिए ।
नेपालमा सञ्चालन गरिएको शिविरका लागि सहज होस् भनेर डा. गुरुङले बेलायतमा जनवरी ६ तारिख २०२३ शुक्रबार अल्डरसटमा कोष संकलन रात्रीभोज आयोजना गरेका थिए ।