काठमाडौं । नेपाली भिलेज यूके परियोजना टोलीले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीसँग भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालय पुगेर परियोजनाका म्यानेजिङ डाइरेक्टर मेजर खुसीमान गुरुङ एमभिओ, बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन यूकेका अध्यक्ष एवं मेयर डेभिड मेरिडिथसहितको टोलीले बुधबार मन्त्री किरातीलाई भेटेको परियोजना निर्देशक मानप्रसाद गुरुङले गोर्खा मिडियालाई जानकारी दिए । टोलीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बेलायतको वेल्समा अघि सारिएको नेपाली भिलेज यूके परियोजनाबारे मन्त्री किरातीलाई जानकारी गराएको थियो ।
मन्त्रीसँगको भेटमा परियोजनाका निर्देशकहरु मन्जु गुरुङ, जसु गुरुङ मसेन्स र बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन नेपालका अध्यक्ष एवं कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीलगायत सहभागी थिए ।
यस्तै नेपाली भिलेज परियोजना टोलीले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड पुगेर त्यहाँका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलगायत अधिकारीहरुलाई भेटेको छ ।
उक्त टोलीले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेट गरेको थियो । भेटमा उनीहरुले मन्त्री पौड्याललाई नेपाली भिलेज यूके र बेक्रन-धुम्पुसको भगिनी सम्बन्धको बारेमा जानकारी दिएका थिए । मन्त्रीद्वय राई र पौड्यालले बेलायतमा बनाउन लागिएको नेपाली भिलेज सराह्रनीय काम रहेको बताएका थिए।
कास्कीको माच्छापुच्छ्रे गाउँपालिकाको धम्पुस र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध सन् २०१९ मा स्थापित भएको थियो । धम्पुस-ब्रेकन टुइनीङ स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा यही फेब्रुअरी ११ तारिखमा धम्पुसमा वर्षगाँठ समेत मनाइएको छ ।
म्यानेजिङ डाइरेक्टर एवं समाजसेवी मेजर गुरुङका अनुसार नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अघि सारिएको नेपाली भिलेजका लागि २४ एकर जग्गा खरिद गरिसकिएको छ । नेपाली भिलेज यूकेले नेपाली गाउं बनाउने महत्वकांक्षी परियोजनाका लागि चार बेडरुम घरसहितका संरचनाहरु रहेको २४ एकर (लगभग १९० रोपनी) जग्गा खरिद गरेको हो । सो को मूल्य ९ लाख ४० हजार पाउण्ड (करिब १६ करोड रुपैयाँ) छ । उक्त घरजग्गा वेल्सस्थित ब्रेकन टाउनबाट ८ माइलको दूरीमा छ । परियोजनामा हालसम्म २२७ जना शेयरधनी छन् ।