कताकता नमिलेजस्तो
खाल्टाखुल्टीमै गुडेजस्तो
कस्तो नमिलेको जिन्दगी
खोई कता टाल्नु, कता सम्याउनु ?
जहिल्यै अभाव
परदेशमा आमाको अभाव
घरदेशमा बाबाको अभाव
व्यवहारमा पैसाको आभाव
अभावैअभावको पोको
बोकेर आज पनि उभिएको छु
नमिलेको सपनाहरूको लाइनमा
मेरो अघि मैजस्ता
सपना टिप्न उड्नेहरूको
लामो लाइन छ
गलामा खादा र निधारमा
हाम्रो गज्याङगुजुंङ नमिलेका लाइनजस्तो
रातो अबिरमा मुछिएको अछेताहरू उल्टोसुल्टो
झुण्डिएका छन् !
सृष्टिकर्ताले रातो टीका
बगाउँछ भनेर
निधारभन्दा आँखा अलि तल झुन्ड्याएको
हो भन्ने कुरो म मुर्खले आजमात्र
बुझ्दैछु !
आँखा निधारभन्दा माथि
भैदिए अहिले हजारौं
आँखाहरूबाट बगिरहेको
आँसुले विमानस्थल नै
रातै बनाउने थियो सायद !
ओहो ! साँच्चै कति झरेको
ती निर्दोष आँखाहरू बाट आँसु ?
हरेक दिन तपतप झर्ने आँसुको
लयमा चलेको मान्छेको
जिन्दगी साँच्चै कति नमिठो
ठ्याक्कै अप्ठ्यारो भीरको
सुन्दर अम्लारी (अर्किट) फूलजस्तो ! हेर्दामात्र राम्रो ?
यता मिलाउन खोज्यो
उता भत्किन्छ
उता टाल्न खोज्यो
यता दूलो पर्छ
न सिलाउन मिल्छ
न टाल्न मिल्छ जिन्दगी !
देशै रित्तो पारेर
नेपाली युवा युवतीहरूको रंगीन सपना बोकेर
उड्ने जहाजहरू सकुशल गन्तव्यमा पुगुन्
अनि, गलाको खादा फाँसीको फन्दा
निधारको टीका रगतको रंगमा
परिवर्तन नभै
सुन्दर सपना सजाउँदै सकुशल फेरि
देश फिर्न सकुन् !
भनि मनमनै प्रार्थना गर्दै
नमिलेको जिन्दगी
मिलाउन जानेहरूको
लामो लाइनमा आज फेरि
एकपल्ट म उभिएको छु !!
(नेपालदेखि हङकङ यात्राका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरिएको कविता)