पोखरा । पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको अध्यक्षमा मोतीप्रसाद गुरुङको निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न ४९ औँ वार्षिक साधारणसभा तथा २३औँ अधिवेशनले मोतीप्रसादको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
२०३५ सालमा स्थापित सदनको सचिवमा बिलबहादुर गुरुङ, सदस्यहरूमा बिलबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, भुविन्द्रप्रसाद गुरुङ, सपना गुरुङ, लक्ष्मी गुरुङ, ओमप्रसाद गुरुङ, कन्यकुमारी गुरुङ, खिमबहादुर गुरुङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक इन्जिनियर किसान सिंह गुरुङले जानकारी दिए ।
निर्वाचन समितिमा संयोजक इन्जिनियर किसानसिंह गुरुङ, सदस्यहरूमा अधिवक्ता आर्जु गुरुङ र मेजर धनप्रसाद गुरुङ थिए ।
नवनिर्वाचित अध्यक्ष मोतीप्रसाद गुरुङले सेवा निवृत्तपश्चात् सेवामा जुट्ने क्रममा बौद्ध अर्घाैं सदन जस्तो गरिमामय संस्थाको अध्यक्षको जिम्मेवारी प्राप्त भएकामा खुशी व्यक्त गरे । विधानतः सदनको कार्यभार आगामी पुस १५ गते, ल्होछारको अवसरमा सम्हाल्ने प्रचलन छ । त्यसपछि आफ्नो कार्यसमिति सक्दो सेवामा जुट्ने साथै विघुतीय शवदाहगृह सञ्चालनका लागि पहल गरिहाल्ने उनले घोषणा गरे ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिङ गुरुङले बौद्ध अघौं सदनको स्थापनाकालदेखिको प्रगतिको प्रसंशाका गरे । उनले सदनका अग्रजहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङको स्मृतिमा पूर्व राज्यमन्त्री, धर्मोदय सभाका अध्यक्ष इन्द्रबहादुर गुरुङ जस्तो अग्रजलाई सम्मान गर्न पाउनु एवं उहाँको प्रेरणामूलक अभिव्यक्ति सुन्न पाउँदा अत्यन्तै सौभाग्यशाली ठानेको उनले बताए ।
बौद्ध अघौं सदनका संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङ स्मृति सम्मानबाट सम्मानित, बौद्ध धर्मको सेवामा समर्पित, धर्मोदय सभाका अध्यक्ष, पूर्व राज्यमन्त्री स्याङ्जा पेल्काचौर निवासी विशिष्ट अतिथि इन्द्रबहादुर गुरुङले सदनले आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनलाई १ लाख रुपैयाँ, सम्मानपत्र, भाङ्ग्रा, खादाले सम्मान गरिएको थियो । तमु धिं नेपालकी वरिष्ठ उपाध्यक्ष गीमाया गुरुङले शान्ति, सद्भाव, एकता, संस्कार संस्कृतिका लागि बौद्ध अर्घौ सदनको भूमिकाको प्रसंशा गरिन् । तमुहरू एकताबद्ध भई अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सोंपाल तमु समाजकी अध्यक्ष सावित्री गुरुङले बौद्ध अर्घौ सदनको विकासका लागि सोंपाल लगायत तमु समाजहरूको योगदानको बारेमा प्रस्ट पारिन् ।
धर्मोदय सभा कास्कीका पूर्व सचिव प्रकाशभान गुभाजुले बौद्ध दर्शनलाई व्यवहारमा कार्यान्वयन गरिए शान्ति र सभ्य समाज निर्माण हुने बताए । सचिव बिलबहादुर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भविन्द्र गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सदस्य बिलबहादुर गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो ।
बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्रबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीप्रसाद गुरुङ र सञ्चालन सचिव बिलबहादुर गुरुङले गरेका थिए ।