काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहल गर्न एनआरएनएको टोलीले आग्रह गरेको हो ।
बिहीबार भएको भेटमा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताको मर्मअनुरूप एक पटक वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकारलाई संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्ने व्यवस्था समावेश गर्न आवश्यक पहल र समन्वय गर्नसमेत एनआरएनएले आग्रह गरेको थियो ।
भेटका क्रममा गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय र परामर्श गरी सकेसम्म छिटो आवश्यक पहल गर्ने बताए ।
भेटमा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, महिला संयोजक रश्मि थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, पूर्व कोषाध्यक्ष प्रकाश पुन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सरोज दाहाल उपस्थित थिए ।